साहित्यकार बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण

काठमाडौँ । साहित्यकार राजाराम बर्तौलाको नयाँ कृति ‘भ्रमित सत्य’को लोकार्पण भएको छ । काठमाडौँको बागबजारमा शुक्रबार आयोजित एक कार्यक्रममा डा सुरेन्द्र केसी र डा तुलसी भट्टराईले बर्तौलाको नयाँ कृति भ्रमित सत्यको लोकार्पण गरेका हुन् ।लोकार्पण कार्यक्रममा बोल्दै डा। केसीले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरुले वर्तमान समयलाई चित्रित गरेको बताए । उनले देशको हितलाई बल पुर्‍याउने खालका सिर्जनामा साहित्यकारहरुले जोड दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै डा तुलसी भट्टराईले साहित्यको विकासमा राजाराम बर्तौलाको योगदानबारे चर्चा गरे । उनले भ्रमित सत्य कविता संग्रहमा रहेका कविताहरुले कविता लेखनको स्तरियतालाई मर्न नदिएको बताए ।साहित्यकार बर्तौलाका मेरो पाइला संस्मरण र अल्सी ढुङ्गो निबन्ध संग्रह प्रकाशित भइसकेका छन् । नेपाल सरकारको परराष्ट्र सेवाबाट सात वर्ष अगाडि सेवा निवृत्त भएपछि साहित्यकार बर्तौला हाल साहित्य सिर्जनामै लागेका छन् ।