Trending Now

जयराज भट्टराईको ’फ्राइडे कन्फ्युजन’ कथासंग्रह सार्वजनिक

काठमाडौँ—काठमाडौंको शिल्पी थिएटरमा आयोजना गरिएको एक समारोहमा दमकका कथाकार जयराज भट्टराईको पहिलो कथासंग्रह ’फ्राइडे कन्फ्युजन’ लोकार्पण गरिएको छ । आख्यानकार ध्रुवचन्द्र गौतम, साहित्यकार अभि सुवेदी, कलाकारहरु संगीता उराँव र पवित्रा खड्कालेसंयुक्त रुपमा पुस्तक बिमोचन गरेका थिए ।
पत्रपत्रिकाहरुमा कथा लेख्दै आएका भट्टराईले विभिन्न समयमा लेखेका कथा र नयाँ कथाहरुलाई मिलाएर कृतिको रुप दिएका हुन् ।
पुस्तकको लोकार्पण गर्दै आख्यानकार ध्रुवचन्द्र गौतमले नयाँ पुस्तामा लेखन कर्म खस्किइरहेको अवस्थामा नयाँ कथाकारहरु आउनु धेरै राम्रो भएको बताए । उनले भट्टराईको कथा कृतिको लेखनीबारे चर्चा गर्दै राम्रो कथाकारको रुपमा उदय भएको उल्लेख गरे ।
कथा संग्रहमा भूमिका समेत लेखेका गौतमले भने– ’नयाँ कथाकारहरुमा यत्तिको संभावनायुक्त लेखन भएका व्यक्ति कमै भेटिन्छन् त्यसैले आगामी दिनमा अझ राम्रो कृति आउने संभावना छ ।’ अर्का साहित्यकार अभि सुवेदीले भट्टरईले कथा संग्रहमा राखेका ६ वटा कथाहरु खाडी मुलुकमा नेपालीहरु बाँचिरहेको जीवनसँग सम्बन्धित रहेकाले त्यहाँको भोगाइबारे आफू परिचित रहेको बताए । उनले मरुभूमि कथा लेख्नेहरुका लागि उर्वरभूमि भएको टिप्पणी गरे ।
कथाकार भट्टराईको यो कृतिमा १८ वटा कथा छन् । उनी कुनै समय आँफै पनि खाडी मुलुकमा रोजगारीका लागि गएका थिए । त्यही रोजगारीमा रहँदा देख भोगेका केही दृश्यहरुलाई कथाको आकार दिएका छन् । उनले त्यसबाहेक अन्य जीवन जगत राजनीतिक विषयवस्तु समेत छोएर लेखेका कथा संग्रहमा छन् ।

 

Comments are closed.