चालिसेको लघुकथा ‘वन्दना’ सार्वजनिक

डा. विदुर चालिसेद्वारा रचित एवम् नमस्ते आधुनिक लघुकथा मञ्च (नआलम) द्वारा प्रस्तुत ‘लघुकथा वन्दना’को शनिबार लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो पाँचौँ जन्मदिवसको अवसर पारेर शनिबार अपरान्ह भर्चुअलरूपमा कार्यक्रम आयोजना गरी लघुकथा वन्दनाको लोकार्पण गरेको हो ।

नआलमका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को प्रस्तुति, लघुकथा वन्दनामा वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेको शब्द रचना, मुरलीधरको सङ्गीत र आनन्द कार्कीको सुमधुर स्वरमा रहेको छ ।नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार, कवि प्रा.डा. कृष्णहरि बरालले वन्दनाको लिरिकल भिडियो बजाएर विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बरालले वन्दना नेपाली र संस्कृत शब्दको समिश्रणबाट बनेको र अत्यन्त सुमधुर रहेकोे बताउनुभयो । वन्दनाको रचना, सङ्गीत र गायन कठिन हुँदाहुँदै पनि अत्यन्त सहज ढङ्गले यति मिठो सृजना पस्केकोमा सबैको प्रशंसा गर्नुभयो ।

लोकार्पित लघुकथा वन्दनाको समालोचना समालोचकद्वय डा.लेखप्रसाद निरौला र डा.बासुदेव काफ्लेले गर्नुभएको थियोे । कार्यक्रममा डा. विदुर चालिसे, डा.हिमलाल पन्थी, राजेन्द्र कुँवर, प्रमोद प्याकुरेल, गङ्गा कर्माचार्य, अच्युत घिमिरे, अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।