Trending Now

लेखक ध्रुव जोशीको ‘अनुभूतिका महक’ कवितासंग्रह सार्वजनिक

ललितपुर । लेखक ध्रुव जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक’ एक समारोहबीच सार्वजनिक गरियो ।

ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि तथा संस्कृतिविद् तुलसी दिवसले कविताकृति सार्वजनिक गर्दै उमेरले मानिसको सिर्जनशीलतालाई नछेक्ने बताए ।

कवि जोशीले ८० वर्षको उमेरमा कविताकृति प्रकाशनमा ल्याएकोमा शुभकामना दिँदै कवि दिवसले भने- “ध्रुव जोशी प्राविधिक क्षेत्रका व्यक्ति भए पनि एउटा मानिसमा सिर्जनशीलता र कवित्वको भाव हुनसक्ने उनको काव्यकृतिले स्पष्ट पारेको छ ।”

कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल र प्रा.डा. सञ्जिता वर्माले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । कृषि विज्ञ तथा कवि ध्रुव जोशीले जीवनलाई समयले प्रभावमा पारेकै कारण आफू कविताको महासागरमा हेलिन आइपुगेको बताए ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कँडेललगायतले बोलेका थिए । सार्वजनिक कविताकृति ‘रामहरि जोशी चन्द्रतीर्थ ट्रष्ट’को सहयोगार्थ प्रकाशित गरिएको हो।

Comments are closed.