कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित अभियान लघुकथा’ विमोचन

भक्तपुरमा सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न एक कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित ’अभियान लघुकथा’ नामक लघुकथासङ्ग्रह विमोचन गरिएको छ । सिर्जना अभियान समाजबाट प्रकाशित उक्त कृतिमा ६२ जना स्रष्टाहरूका लघुकथाहरू संग्रहित छन् । समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थ, समाजका अध्यक्ष धनमान श्रेष्ठ र हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार कायस्थले समाजमा हाम्रा वरिपरि यस्ता धेरै घटनाहरू छन् त्यसमध्ये हामीलाई मुटुमै छुने विषयलाई हामी आफ्नै भाषाले सिंगारेर प्रस्तुत गर्छौ भन्नुभयो । साथै उहाँले भक्तपुर आफ्नो पुर्ख्यौली क्षेत्र भएकोले यहाँ आएपछि आफूलाई आनन्द अनुभव हुने र म बन्दीपुरे भक्तपुरको नामक कृति छिटै प्रकाशित हुने जानकारी पनि दिनुभयो ।
सम्पादक तथा कथाकार ध्रुव मधिकर्मीले यता आएर लघुकथा लेखनमा नवप्रवेशीहरूको सक्रियता बढेकोले तिनीहरूको प्रोत्साहनको लागि सङ्कलन निकालिएको बताउँदै लघुकथामा समयको आयाम र दृष्टिकोणले विशेष महत्व राख्छ भन्नुभयो ।
लघुकथा केन्द्रका अध्यक्ष लता केसीले नयाँ स्रष्टाहरूलाई प्रोत्साहन र हौसला चाहिने बेलामा यसप्रकारको कार्यले अझ प्रेरणा मिल्नेछ भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरू सुरेन्द्रलाल भुजू, विनोद नेपाल, निर्मला बराल, हिमलाल श्रेष्ठ, राजेन्द्र चित्रकार, सुनीता निरौला, यमुना प्रधानाङ्ग र मिमला शर्माले लघुकथा वाचन गर्नुभएको थियो ।
सिर्जना अभियान समाजले प्रकाशित गरेको सो कृतिमा स्रष्टाहरू दिव्य गिरी, युवराज मैनाली, रत्न प्रजापति, दुर्गाप्रसाद ग्वालटारे, इन्द्रकुमार सरित्, ललिता दोषी, गणेश श्रमण, कपिल लामिछाने, छविलाल खड्का, खेमराज पोखरेल, कुसुमाकर शर्मा, पुष्कर भट्ट, ममता मृदुल, म्यामराज राई, शेखरकुमार श्रेष्ठ, रुपक श्रेष्ठ, राजु क्षेत्री इन्दिरा चापागाइँ, मन्दिरा चापागाइँ, हरिगोविन्द भोमी, शान्ता तिम्सीना, ओमकुमारी बन्जारा, रमेश सुवेदी लगायत ६२ जनाका समसामयिक विषयका लघुकथा संग्रहित छन् ।