कवि योक्पाङ्देनको ‘केवाफुङ्‍को गीत’ सार्वजनिक

कवि योक्पाङ्देनको ‘केवाफुङ्‍को गीत’ सार्वजनिक

कवि योक्पाङ्देनको ‘केवाफुङ्‍को गीत’ सार्वजनिक गरिएको छ।
शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा कविद्वय श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षकद्वय अशोक थापा, गुरुङ सुशान्त र माया पब्लिकेशनका अध्यक्ष विनयभूषण दत्तले पुस्तक सार्वजनिक गरेका थिए
पुस्तकमाथि बोल्दै मुकारुङले स्थानीयताको प्रयोगमा कवि योक्पाङ्देन अब्बल रहेको चर्चा गरे ।कवि तुम्खेवाले ‘केवाफुङ्को गीत’ भित्रका कविताले अर्गानिक स्वाद दिएको बताइन् ।
समीक्षक थापाले मुलुकमा पटक-पटक सामाजिक, राजनीतिक आन्दोलन भए पनि पहिचानको आन्दोलनको यात्रा सधैं धूमिल भइरहेकामा चिन्ता गरे । ‘वक्ता गुरुङले कवितामा सांस्कृतिक चिन्तन, परदेशीएका पीडादेखि पर्यावरणीय चिन्तनसम्म आएको बताए । ‘संग्रहमा शब्दको फुर्मासी छैन, कविता कविताकै लागि लेखिएका छन्,’ उनले भने ।
कार्यक्रमलाई सहजीकरण गरेका पत्रकार फणीन्द्र संगमले मोरङको मिक्लाजुङ बस्दै आएका योक्पाङ्देनका कवितामा स्थानीय रङ, विम्ब र त्यहीँको माटोको सुवास पाइने बताए । कवि योक्पाङ्देनले आफ्ना भावना, संवेग र आक्रोश कवितामै प्रकट गरेको भनाइ राखे। ‘सिंहदरबार र बालुवाटारमा बस्ने, गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँड्नेहरुले नै देशको बदनाम गरेका छन्,’ उनले भने, ‘गाउँमा खेतीकिसानी गर्ने, भारी बोक्नेले त त्यसरी सोच्न पनि सक्दैन ।’
कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले संग्रहभित्रका दुई कविता वाचन गरेका थिए । पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।