जनपक्ष प्रकाशन सिक्किमको आयोजनामा सिलिगुडीमा कवि तथा साहित्यकार गीताश्रीको कनिष्ठ सुपुत्री ’वर्षा’को जन्मदिनसँगै ’वर्षा’ कविता संग्रह र नेपाल, भारत, म्यानमार र अमेरिका जस्ता विकसित मुलुकका नारी हस्ताक्षरहरू का रम्बास कविताहरूको संग्रह ’काव्यान्जलि’ सार्वजनिक गरिएको छ । उक्त साहित्यिक कुम्भमा नेपालका १८ जना लगायत भारतको दार्जिलिङ, सिक्किम, खार्साङ्ग, असम, मनिपुर लगायत आठ राज्यका सर्जकहरुको साक्षात्कार संगै कविता वाचन, श्रस्टा सम्मान र पुस्तक लोकार्पण भव्यरुपमा सम्पन्न भएको थियो । साहित्यका विभिन्न हस्तीहरुका विचार र रचना वाचनले कार्यक्रम कवितामय भएको थियो । वर्षा कवितासंग्रह साहित्यकार गीता श्री शर्माको कवितासंग्रह हो भने ’काव्यान्जलि’ देश विदेशमा रहेका नारीहरूद्वारा लेखिएका राम्बास कविताहरूको संकलन र संग्रह हो । ’काव्यान्जलि’ साहित्यकार गीताश्री शर्माले सम्पादन गरेकी हुन् ।
भारतीय नेपाली वरिष्ठ साहित्यकार रुद्र पौडेलको सभाध्यक्षतामा भएको सो कार्यक्रममा आयोजक संस्था जनपक्ष प्रकाशनका तर्फबाट लेखिका कवि गीताश्री शर्माले स्वागत मन्तव्य दिँदै जनपक्ष प्रकाशनले पहिलोचोटि सिलीगुडीमा आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा रम्बास कविताका बारेमा तीन वर्षको अवधिमा गरेका प्रगतिका बारेमा जानकारी गराइएको थियो । पहिले चरणमा नेपालबाट गएका कविहरू माधव पोखरेल गोज्याङ्ग्रे, प्रिन्स प्रमोद ढकाल, गोपाल सङ्ग्रौला, गायत्री गुरागाँई, डमरु बल्लभ भण्डारी, सिर्जना नेपाल, पुष्पा नेपाल, रमेन्द्र कोइरालाले कविता वाचन गरेका थिए । त्यसपछि सिलीगुडीका पत्रकार विशु क्षेत्रीले भारतीय नेपाली पत्रकारिता सम्बन्धि मन्तव्य दिनु भएको थियो ।
कविता वाचनको दोस्रो प्रकरणमा भारतको असमका कविहरू कल्पना क्षेत्री, कुञ्जादेवी, इन्दिरा खड्का, रुक्मिनी शर्मा, हिरन्य आचार्य, गिरीधारी उपाध्याय लगायतका कविहरूले कविता वाचन गरेका थिए । तेस्रो प्रकरणमा पुनः नेपालका कविहरू प्रिन्स प्रमोद ढकाल, शकुन्तला मन्जरी, छत्र काफ्ले, चिरञ्जीवी काफ्ले, शारदा दाहाल भण्डारी, भगवती ढुङ्गेल, खेमलाल पोखरेल, राधा सुवेदी, अजिव आचार्यलगायतका कविहरूले कविता वाचन गरेका थिए ।
त्यसपछि गीताश्री शर्माद्वारा लिखित कवितासङ्ग्रह वर्षा रम्बास कवितासङ्ग्रह काव्याञ्जलीको मिलन बोहरा, पेम्बा शेर्पा, दिपक सुवेदी, शुष्मा शर्मा, पुन्यप्रसाद शर्मा र गीताश्री शर्माद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको रम्बास कवितासङ्ग्रहको समीक्षा नेपालका समालोचक दिपक सुवेदीले र वर्षा कवितासङ्ग्रहको समीक्षा नेपालकै नाटककार भरत गुरागाईँ बर्बरिकले गर्नुभएको थियो ।
दुवै पुस्तकको समीक्षा लिलबहादुर सुनारले गर्नुभएको थियो । कार्यक्रममा रम्बास कविताका जन्मदाता तथा प्रणेता भारतको आसामका मिलन बोहराले रम्बास कविताको परिचयका साथै यसको निर्माण संरचनाका बारेमा चर्चा गर्नु भएको थियो । सो अवसरमा भारतको सिक्किम, दार्जिलिङ, सिलीगुडी र डुवर्सका कविहरु अप्सरा दाहाल, विचन्द्र प्रधान, काटुक डेङजोङपा, निमा तामाङ, विमल खतिवडा र पर्शुराम ढकाललगायतले रचना वाचन गर्नुभएको थियो ।