डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो ” गीतसङ्ग्रह लोकार्पण

सिसार साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो ” गीतसङ्ग्रहको लोकार्पण भयो । प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्व र प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि , सभापति , लेखकलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यले लेखकको गीत गाएर शुभकामना दिनुभयो । लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले सबैलाई स्वागत गरी अन्तरङ्ग सम्बन्धबारे जानकारी दिनुभयो । गीतकार करुण थापा, गायक सुदर्शन विक्रम राणा , गायिका लक्ष्मी घिमिरे लगायतले गीत र मन्तव्यसहित शुभकामना दिनुभयो । प्रमुख अतिथि बरालले लेखकका गीत नयाँ स्वादका भएको धारणा राख्नुभयो । पुस्तकका सम्पादक तथा त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत , पत्रकारिता र हिन्दी विभागका प्रमुख उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राख्नुभयो । लेखकले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आनी छोइङ डोल्माले गाएको घिमिरेको बन्द आँखाभित्र र दशै आयो भन्छन् गाउँमा गीतको भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा बङ्गलादेशको पद्मा नदीको ६.२५ किलोमिटर लामो पुलनिर्माण र साहित्यिक योगदानको उच्च मूल्याङ्कन गर्दै लेखकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन डा. शान्तिमाया गिरीले गर्नुभएको थियो ।