स्रष्टा ज्ञानबहादुर क्षेत्रीको ‘निपठनमा सुकरातको डायरी’ सार्वजनिक

असम, तेजपुरबासी स्रष्टा ज्ञानबहादुर क्षेत्रीले ‘निपठनमा सुकरातको डायरी’ कृति प्रकाशनमा ल्याएका छन् । मंगलबार आयोजित एक समारोहमा उपन्यास ‘सुकरातको डायरी’का लेखक गोविन्दराज भट्टराई र समालोचक कुमार कोइरालाले क्षेत्रीको कृति विमोचन गरेका छन् ।

असमिया, अंग्रेजी तथा नेपाली भाषामा कलम चलाउँदै आएका क्षेत्रीले नेपाली साहित्यमा आफ्नै प्रभाव र विनिर्माणवादको शैली स्थापित गर्ने उपन्यास ‘सुकरातको डायरी’ आफैंमा एउटा व्याख्यानको विषय भएकाले यसको विधा भन्जन र तात्विक पाठबारेमा कृति तयार गरेको जानकारी दिए ।

समालोचक कोइरालाले भारतीय साहित्य अकादमी पुरस्कार विजेता लेखक क्षेत्रीले अहिलेसम्म मूल्यांकन नगरिएको र भिन्न दृष्टिकोणबाट ‘निपठनमा सुकरातको डायरी’ कृति लेखेको टिप्पणी गरे ।

यसअघि ‘अवलोकन’ (निबन्ध संग्रह), ‘सगरमाथाको देशमा’(नियात्रा), ‘मेरो न्युजिल्याण्ड यात्रा’(नियात्रा), ‘आधा टपरा ठेट्ना’(समीक्षा) लगायत एक दर्जन कृति प्रकाशित छन् ।

समारोहमा प्राध्यापक बालकृष्ण माबुहाङ, कवि लक्ष्मण गाम्नागे, कथाकार बखतबहादुर थापा, समीक्षक अनिता पन्थीलगायतको उपस्थिति थियो । ‘निपठनमा सुकरातको डायरी’ कृति ओरिएन्टल पब्लिकेसनले प्रकाशित गरेको हो ।

Comments are closed.