जम्कट्टेलद्वारा लिखत पुस्तक ‘क्रान्तिकारी मजदुर आन्दोलन’ सार्वजनिक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा लिखत क्रान्तिकारी मजदुर आन्दोलनको विमोचन गरिएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् ।
२३ औं मजदुर बलिदान दिवसको अवसर पारेर मुख्यमन्त्री जम्कट्टेलले पुस्तकको विमोचन गरेका हुन् । मजदुर आन्दोलनमा लामो समय सङ्घर्ष गरेका उनले आफ्ना अनुभव र मजदुरका समस्याहरूलाई पुस्तकमा समावेश गरेका छन् । जनयुद्धमा मजदुर आन्दोलनले खेलेको भूमिका, व्यवस्था परिवर्तन र मजदुरका अवस्थाका संगालोलाई पुस्तकमा समावेश गरिएको उनले बताए ।
व्यवस्था परिवर्तन अघि र हाल मजदुरहरूको अवस्थाका निकै परिवर्तन आएको उनको भनाई छ । पुस्तकमा माओवादी केन्द्रको विचार सिद्धान्तलाई माथि उठाउन मजदुरहरूले खेलेको भूमिकाबारे चर्चा गरिएको उनले बताए ।
मजदुर आन्दोलनलाई वर्ग संघर्षसँग जोड्ने आँखीझ्यालको रूपमा रहेको उनको भनाई छ । पेशागत आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोड्न र राजनीतिक आन्दोलनले श्रमिकहरूको पेसागत माग पूरा गर्न दबाब सिर्जना गर्न अखिल नेपाल ट्रेड युनियन महासंघ स्थापना गरेर अघि बढ्दा जनयुद्धको बलमा मजदुरहरूको धेरै माग पूरा गराउन सफल भएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।