जानु धितालको कवितासङ्ग्रह “छाउगोठकी आमा” विमोचन

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा अनामनगर, काठमाडौँको सिलौटो रेस्टुरामा कवि जानु धितालको कवितासङ्ग्रह “छाउगोठकी आमा” विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको छ ।  कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालगायत व्यक्तिले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरे ।

शर्माले धितालका कविताहरू ‘अभिव्यक्ति’मा प्रकाशित हुँदा नै उनमा काव्य झिल्को देखिएको बताए । उनले धितालको काव्य क्षमताको चर्चा गरे ।

कवि स्नेह साय्मिले धितालका कवितामा सुखदुःख, प्रेम पीडा, विद्रोह व्यंग्य सबै रहेको बताए ।

डा. शान्तिमाया गिरीले धितालका कवितामा नारीवादी चेत रहेको उल्लेख गरिन् ।

प्रा. डा. भरत भट्टराईले कृतिभित्र समेटिएका २६ कविताको विश्लेषण गरे ।

कार्यक्रममा कृतिकार धितालसँगै पवन आलोक, विधान आचार्य, श्रीओम रोदन, माधव बिडारीले बोलेका थिए ।