दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा सुलोचना जोशी र सनोजध्वज जोशीका दुई कृति लोकार्पण गरिएको छ। पुस्तक लोकार्पण तथा साहित्यकार प्रा. रमा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।
स कथाकार सहप्रा. सुलोचना जोशीद्वारा लिखित ‘राजीनामा’ कथासङ्ग्रह र कवि सनोजध्वज जोशी ‘राजेन्द्र’द्वारा रचित ‘मेरो घर’ कवितासङ्ग्रहको लोकार्पण गरिएको हो ।
उक्त कृतिहरू विमोचन गर्दै प्रा. रमा शर्माले भन्नुभयो— ‘आफैले पढेको शैक्षिक संस्था पद्मकन्या वहुमुखी क्याम्पसकी सहप्राध्यापक सुलोचना जोशीको कथासङ्ग्रह र उहाँकै भाइ सनोजध्वज जोशीको कवितासङ्ग्रह लोकार्पण गर्न पाउनु मेरो लागि सौभाग्यको विषय हो । सरल र सरस भाषामा लेखिएका यी दुवै कृतिहरूले पाठकलाई आकर्षण गर्नेछन् र नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने छन् ।’
लोकार्पित कृतिहरूमध्ये राजीनामा कथासङ्ग्रहका बारेमा सहप्रा. प्रभा भट्टराई र ‘मेरो घर’ कवितासङ्ग्रहका बारेमा उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले समीक्षात्मक मन्तव्य दिनुभएको थियो । दुवै समीक्षकको आशय थियो— सरल, सुललित र सुवोध्य भाषाशैलीमा लेखिएका यी दुवै कृतिहरूले समाजलाई असल मार्गमा लाग्न प्रेरणा दिनेछन् ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. रामप्रसाद दाहाल, कवि यादव भट्टराई, साहित्यकार केशवराज पन्त र सरस्वती जोशीले शुभकामना मन्तव्य दिनुभएको थियो ।