दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

काठमाडौं, लेखक केशव दाहाल गैर–आख्यानकृति लिएर आएका छन् । किताब पब्लिसर्सले छापेको उनका गैरआख्यान निर्बन्ध लेखनको संगालो— ‘माधवी ओ माधवी’ शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ ।

नयाँ शैलीमा लेखिएको यो पुस्तक मूलतः एक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरूको वृत्तान्त हो । गैर–आख्यानात्मक भइकन पनि आख्यानको स्वाद पाइनु ‘माधवी ओ माधवी’को विशेषता हो ।

‘माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको ईन्द्रेणीलाई चियाउन सकिन्छ,’ कार्यक्रममा बोल्दै लेखक केशव दाहालले भने । उनले किताबमा केही प्रकाशित र केही अप्रकाशित सामग्रीहरू रहेको उल्लेख गर्दै उनले बताए, ‘प्रकाशित सामग्रीलाई पनि मैले मसिनो गरी नयाँ रंगले सजाएको छु र ताजा बनाएको छु ।’

विभिन्न समयमा लेखिएका यी निबन्धहरूमा लेखकले तत्कालीन समय र सन्दर्भलाई मसिनोसँग केलाएका छन् । कतै उनी नितान्त निजात्मक अनुभूतिहरूमा पोखिएका छन्, जहाँ पारिवारिक दुर्घटनाको फलकबाट तत्कालीन सत्ताको क्रुर तस्वीर पनि देखिन्छ । कतै उनी राजनीतिका पेचिला प्रश्नहरूमा डुबेका छन्, जहाँ वैयक्तिक सहभागिताको फलकबाट नेपाली राजनीतिका दुर्घटनाहरु भेटिन्छन् । कतै भने उनले आफ्ना कल्पनालाई पखेटा हालिदिएका छन्, जहाँ समयका सीमाहरू भत्किएका पाइन्छन् ।

शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन् । लेखक कुमार नगरकोटीले आफ्ना थुप्रै छोटा–मिठा–आकर्षक प्रयोगात्मक कविताहरू वाचन गरेर कार्यक्रमलाई रोचक बनाएका थिए, जसमध्ये एउटा थियोः ‘म देवकोटाको पागल पोएट्री हुँ, मन–मस्तिष्कको हिस्टोरिकल मिष्ट्री हुँ !’

Comments are closed.