पत्रकार अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक पी खरेल र प्राध्यापक डा. सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक अक्षर क्रिएसन्स नेपालले प्रकाशन गरेको हो ।
प्राध्यापक खरेल र प्याकुरेलले लोकार्पित पुस्तकमाथि टिप्पणी गरेका थिए । पुस्तक विमोचन कार्यक्रममा लेखक अमृता लम्सालले क्यान्सरबाट पीडित भएका कारण पुस्तक प्रकाशनमा ढिलाई भएको बताइन् ।
क्यान्सर लाग्दा आफूलाई आफ्नो र परिवारको भन्दा प्रकाशनको तयारीमा रहेको पुस्तकको माया लागेको बताइन् । “मलाई परिवारको भन्दा पनि पुस्तक प्रकाशित गर्न पो पाउँदिन कि भन्ने चिन्ता भएको थियो”, हालै क्यान्सरमुक्त भएकी उनले भनिन्, ” तपाईँहरूसामु पुस्तक लोकार्पण गर्न पाउँदा धेरै खुसी छु । पढेर सुझाव दिनुहुन्छ भन्ने आशा राखेको छु ।”
लेखक लम्सालले मिडिया, महिला र म पुस्तकमा २०४६ को जनआन्दोलनपछि महिलाको हक अधिकार, मडियामा महिलाको सहभागिता, महिलाको मुद्दाको कुरा उनले तीन दशकमा आफैले भोगेको र देखेको विषयलाई पुस्तकमा समेटिएको छ ।