साहित्यकार लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ ।
लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उनले विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राखे । मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको सरुभक्तले बताए ।
कथाकार थापाले आफूलाई साथीहरूको सङ्गतले लेखक बनाएको बताए । यो कृति पनि साथीहरूकै प्रेरणाले ल्याएको भनाइ राखे । रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उनले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए । उनका यसअघि मनको मूच्र्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५), पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता सङ्ग्रह, २०७७) प्रकाशित छन् । माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० ओटा लघुकथा समेटिएका छन् । लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुन् । उनी नवनीत साहित्य सागरका पूर्व अध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुन् ।