Trending Now

लक्ष्मीकन्याको ‘छरिएका खुसीहरू’ निबन्धसंग्रह लोकार्पण

जुम्ला, निबन्धकार लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ लोकार्पण गरिएको छ । जुम्लाकी युवानेतृ बुढाको उक्त कृति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंगलबार जुम्लामा संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

पुस्तक लोकार्पणका क्रममा अध्यक्ष दाहालले समाजको वास्तविक चरित्रलाई शब्दचित्रद्वारा प्रकाशमा ल्याएर गतिलो सन्देश दिएकामा सर्जक बुढालाई धन्यवाद दिँदै उनले भने, ‘समाजमा उपलब्ध यस्ता सिर्जना र प्रतिभाको संरक्षण गर्नुपर्छ ।’

सर्जक बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, शहीद परिवार र अपाङ्गताका समस्या र अवस्थालाई शब्दमा उतारेकी छिन् । पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्धसंग्रह मार्फत उजागर गरिएको छ ।

यसअघि बुढाले लेखसंग्रह ‘कर्णालीमा महिला’ भाग–१ र २ लेखेकी थिइन् । तेस्रो कृति ‘मुक्ति अभियान’ प्रकाशन गरेकी उनले निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ चौथो कृतिका रूपमा प्रकाशनमा ल्याएकी हुन् । बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार पनि हुन् ।

 

Comments are closed.