स्मृतिग्रन्थ लोकार्पण रआर.सी. रिजाल सम्मानित

हेटौंडा, सिस्नुपानी मकवानपुरले स्वर्गीय डा. गणेशकुमार पौडेलको स्मृतिमा ‘सिर्जना र सम्झनामा डा. गणेशकुमार पौडेल’ स्मृतिग्रन्थ लोकार्पण गरेको छ ।
प्याराडाइजमा सम्पन्न सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, पल्पसा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यता, हेउमनपा ४ नं. वडाध्यक्ष नवीन सिग्देल, सिस्नुपानी मकवापुरका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य फुर्सती, गीतकार तुल्सी घिमिरेको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको हो ।
कार्यक्रमको लोकार्पण समयमा मन्तव्य राख्दै स्वर्गीय पौडेलका सुपुत्र शौरभ पौडेलले मकवानपुरका सर्जकहरूमाझ बुवाप्रतिको सम्मान अगाध रहेको थाहा पाउँदा आफू भावुक बनेको बताउनु भयो । प्रमुख अतिथि नरनाथ लुइँटेलले पौडेलका अप्रकाशित रचनाहरू प्रकाशनमा चासो राख्ने तथा पौडेलका विचारहरूलाई जीवन्त बनाइराख्नमा जोड दिनुपर्ने बताउनु भयो ।
स्वर्गीय पौडेलको हातबाट अन्तिम सम्मानका रूपमा शान्तिदेवी वनस्खण्डी स्मृति सम्मान २०७९ आफूले प्राप्त गरेको घटना कहिल्यै नबिर्सने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य) विभाग सदस्य शान्ति प्रियवन्दनाले पौडेललाई सम्झनुभयो ।
सिस्नुपानी मकवानपुरका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य फूर्सति, नेपाली लेखक संघ केन्द्रिय सदस्य हयग्रीव आचार्य र हेटौंडा उपमनपा ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले पौडेलका सम्बन्धमा मन्तव्य राख्नुभएको थियो ।
वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल पहिलो ‘डा. गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८०’ बाट सम्मानित हुनु भएको छ । सिस्नुपानी नेपाल मकवानपुरद्वारा २५ हजार राशीको नगदसहित सम्मानित हुनु भएका रिजालले भैरव प्रतिभा पुरस्कार २०५७, यति सम्मान, दायित्व वाङ्मय विशिष्ट सम्मान २०७८, ज्ञानदीप हास्यव्यङ्ग्य सम्मान २०७७, अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान, जिल्लागत बुढ्यौली साहित्य समाजद्वारा विभिन्न सम्मान लगायत दर्जनौं सम्मानहरू प्राप्त गरिसक्नु भएको छ ।
भैरव अर्याल, पारिजात, गोपालप्रसाद रिमाल, भानुभक्त र लक्ष्मीप्रसाद देवकोटा गरी ५ सर्जकहरूको सालिक निर्माणको नेतृत्व लिएर सम्पन्न गर्नु भएको उहाँ साहित्य क्षेत्रमा उदार व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । रिजालको अगुवाईमा दर्जनौं सर्जकहरू सम्मानित भैसक्नु भएको छ ।
प्राप्त राशीमा थप गरी संस्थालाई नै प्रदान
रिजालले आफूले प्राप्त गरेको सम्मानको २५ हजार राशीमा आफैंले २५ हजार थप गरी सिस्नुपानी नेपाललाई अक्षयकोष निर्माण गर्न तथा आगामी वर्षदेखि हास्यव्यङ्ग्य लेखनमा लागेका नवप्रतिभालाई सम्मान गर्नका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले आगामी वर्षसम्म सो राशी बढाएर १ लाख पु¥याउने घोषणा गर्नु भएको छ ।
को वरिष्ठ, हाकिमको खप्पर, कण्ठलङ्गौटी, खरानीभित्रको आगो जस्ता हास्यव्यङ्ग्य पुस्तकहरू लेखेर नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयनमा लाग्नु भएका रिजालले भारतीय लेखक शरद जोशी, हरिशङ्कर परसाइलगायतका रचना समेत नेपाली भाषामा अनुवाद गर्नु भएको छ ।
एजिङ नेपालका संयोजक तथा सिस्नुपानी नेपालका संस्थापक कृष्णमुरारी गौतम चट्याङमास्टर भन्नुहुन्छ– “हरेक नयाँ चुनौतिलाई नयाँ अवसरको रुपमा हेर्न सक्ने र त्यस्तो अवसरको पुरा फाइदा उठाउन आफ्नो तन मन धनको पूर्ण आहुति दिन तत्पर रहने क्षमताका व्यक्ति हुन् आर सी रिजाल। मानवता र समाजको बृहत्तर हितको अगाडी आफ्नो व्यक्तिगत स्वार्थको अस्तित्व नै नस्विकार्ने व्यक्ति हुन् आर सी रिजाल।
जन्मभूमिलाई कर्मभूमिको रूपमा स्विकारेका आर. सी. रिजाल आफ्नो र अर्कोको सफलतामा भिन्नता नदेख्ने मात्र होइन अरुको सफलाताको लागि आफ्नो बल वर्गतको पूर्ण उपयोग गर्न हमेशा तत्पर रहने व्यक्ति पनि हुन्। दिँदा बढ्छ र लिँदा घट्छ भन्ने आदर्श लिएर बाँचेको उनको जीवन भएर नै उनीसँग सम्पर्कमा आउने सबैको विश्वास र सम्मानको पात्र बनेका छन् आर. सी. रिजाल।”
सिस्नुपानी नेपाल मकवानपुरको स्थापना, यस क्षेत्रलाई केन्द्रसम्म पहिचान दिलाउन सफल, हास्यव्यङ्ग्य रचनाका लागि विभिन्न अवसरहरूको सिर्जना, नवप्रतिभाहरूलाई खुलारुपमा स्वागत गर्दै हास्यव्यङ्ग्य लेखनमा दशकौंदेखि जीवन नै समर्पित गरी निरन्तर सेवा गर्नुभएको कारण उहाँलाई सम्मान गरिएको अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।
साहित्य संगम तथा सिस्नुपानी मकवानपुरलाई संयुक्तरूपमा आफ्नै आँगन काटेर संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको घडेरीमा बनेको भवनमा मकवानपुरका अधिकांश साहित्यिक संस्थाहरूले साझा घरका रूपमा विमर्श, वाचन, पुस्तक विमोचन आदि गतिविधि गर्दै आएका छन् ।
कार्यक्रममा सानु खनाल र स्वस्तिका दाहालले पौडेलको स्मृतिमा रचना वाचन तथा सबिता तिमल्सिना, सुवास सजल, गायत्री नेपाल, प्रशन्न अर्याल, डिबी बर्तौला, ओमभक्त भण्डारीले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो । हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले लेखिरहनका लागि सर्जकहरूलाई आग्रह गर्नुभयो ।
विगतका कार्यक्रम प्रवर्धन गर्नु भएकोमा वडाध्यक्ष नवीन सिग्देल, दृष्य छायाङ्कन कार्यमार्फत् साहित्यिक गतिविधिलाई दर्शक, स्रोतामाझ पु¥याउन सहयोग गर्नुभएकोमा एनएस टेलिभिजनका महेन्द्र ओझा तथा विगतका कार्यक्रममा अतिथि व्यवस्थापनमा स्वतस्फुर्त सहयोगका लागि होटल लियो इन, होटल एभोकाडो, होटल सूर्यान्स, होटल क्वीक ट्वेन्टीलाई सम्मान गरियो ।