मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक

काठमाडौँ – मुक्तककार मिना चौलागाईद्वारा लिखित मनोकाङ्क्षा मुक्तक संग्रह विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले शनिबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मुक्तकसंग्रह विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले नेपाली साहित्यमा अहिले मुक्तकको लोकप्रियता निकैे बढेको बताए । छोटो, मिठो र चोटिलो विधा मुक्तकमा सबैको आकर्षण बढेको र चौलागाईंको मुक्तकसंग्रह पनि पठनीय भएको बताए। मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने पनि उनको भनाई थियो । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्ने भनाइ व्यक्त गरे। मुक्तककार चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेको पनि राईको भनाई थियो।

सोही कार्यक्रममा प्राज्ञ डा. कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताइन । मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको डा. रिसालको भनाई छ।

कार्यक्रममा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेर सुनाए।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीले स्वागत मन्तव्य दिएका थिए । मुक्तककार चौलागाईंको यश अगाडि पनि मुक्तक मिनार मुक्तकसङ्रह सार्वजनिक भैसकेको छ। आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको लेखक चौलागाईंको भनाई छ। मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।