पत्रकार नेत्र पन्थीको लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीतिको’ सार्वजनिक

काठमाडौँ । पत्रकार नेत्र पन्थीको लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ । केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरिएको थियो ।
सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्य–मान्यता एवं विधान र संविधानबाहिर चालेका कदमहरू साथै नैतिक र अनैतिकको लक्ष्मण रेखा मेटिएको नेपाली राजनीतिको अन्तर कथा खोतल्ने प्रयास छ ।
पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास छ । पछिल्लो निर्वाचनपछि भएका सत्ता समीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दा पछाडि भएका गुप्त भेट र सम्झौताहरूको पनि पुस्तकले उजागर गरेको छ ।
लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोकाका कथाहरू पनि छन् । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ ।
पन्थीका अनुसार पुस्तकमा नयाँ संविधान जारीपछि पनि नेताहरूको सत्ताप्रतिको भोकको चरित्र नबदलिएको तथा नेपालको राजनीतिमा भूराजनीतिक प्रभावलाई उठान गरिएको छ । ६७० पृष्ठको पुस्तक सफ्ट र हार्ड दुवै कभरमा उपलब्ध छ ।

पन्थीका यसअघि डिभोर्स ः प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।