युवा गजलकार परिविक्रमको गजलसंग्रह ‘अङ्कमाल’सार्वजनिक

काठमाडौँ, नेपाल गजल प्रतिष्ठानको आयोजनामा राष्ट्रिय नाचघर जमलमा गजल मुशायरा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा युवा गजलकार परिविक्रमको गजल संग्रह ‘अङ्कमाल’को लोकार्पण गरिएको थियो । उक्त पुस्तकलाई प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ, आवाज शर्मा, डा।प्रदीप कुमार मैनाली, शान्ति शर्मा र गजलकार परिविक्रमले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
पुस्तकको बारेमा समीक्षा गर्दै गजल साधक एवं समीक्षक भुवन निश्तेजले गजल संग्रहमा २० वटा मतला, ६० वटा फर्द र ८० वटा गजल समेटिएको बताए ।
पुस्तक विमोचन र गजल वाचन गरी दुई खण्डमा सम्पन्न कार्यक्रमको पहिलो खण्डको सहजीकरण गजलकार एवम् प्रतिष्ठानका कानुनी सल्लाहकार आँचलकुमार शर्मा र दोस्रो खण्डको सहजीकरण पूर्व प्राज्ञ धीरेन्द्र प्रेमर्षिले गरेका थिए । कार्यक्रम संयोजक प्रेमर्षिले ९ जना गजलकारहरूको एक–एक वटा मतला प्रस्तुत गरे ।
प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली गीत, संगीत एवं काव्य विधाका प्रमुख व्यक्तित्वहरू, विविध संस्थाका प्रतिनिधिहरूलगायत गजल प्रेमीहरूको उपस्थिति थियो ।

Comments are closed.