कवि पौडेलको कवितासंग्रह ‘बग्दैबग्दै’ को डीसीमा विमोचन तथा परिचर्चा

डीसी अमेरिकामा आयोजित एक भव्य कार्यक्रममा कवि जगन्नाथ पौडेलको कवितासंग्रह ‘बग्दैबग्दै’ को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा मनासस शहरको बुलरन लाइब्रेरीमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रका संस्थापक होमनाथ सुवेदी, साहित्यकार कृष्ण धरावासी, पुरस्कार समितिका संयोजक तीर्थ पाण्डे, प्राडा विष्णु घिमिरे, बीओटी सचिव नारायण अधिकारी, साहित्यकार गोपाल रेग्मी लगायत समीक्षकहरूले ‘बग्दैबग्दै’ कृतिमाथि टिप्पणी राखेका थिए ।
साहित्यकार रोजा ओलीले ‘बग्दैबग्दै’ कृतिबाट ‘मेरो आकाश फिर्ता देऊ’ कविता वाचन गरेर आरभ्भ गरेको कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका तनुजा पोख्रेलले ‘खसम उड्ने जहाज’ कविता वाचन गर्दा खचाखच भरिएको हल एकाएक शान्त मुद्रामा परिणत भएको थियो ।

सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीको सन्दर्भ पारेर गरिएको उक्त लोकार्पण तथा कृतिपरिचर्चा कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्व एड्रियन पोख्रेलले नेपालीले विश्वसामु शिर उठाउने काम गर्ने बेला आएको प्रसङ्ग उल्लेख गर्दै कविता वाचन गरेका थिए । उनले कवि जगन्नाथ पौडेलले पनि सबै नेपाली तथा भाषासाहित्य र सँस्कृति प्रेमीहरूको इज्जत बढाउने काम गरेको बताए ।

आफ्नो समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार कृष्ण धरावासीले जगन्नाथ पौडेलले नेपाली गद्यकविताको इतिहासमा आफ्नो पृथक पहिचान स्थापित गरेको धारणा राखे । साहित्यकार तीर्थ पाण्डेले ‘बग्दैबग्दै’ कृति विषय, प्रस्तुति र कलाका हिसाबले शक्तिशाली कृति बनेको कुरा यहीँका कविता साक्षी बनेको धारणा राखे । प्राडा विष्णु गौतमले कवि जगन्नाथ पौडेलले पाठकलाई मन पर्ने सशक्त कविताहरू आफ्नो कृतिमार्फत प्रस्तुत गरेको धारणा राख्दै ‘बग्दैबग्दै’ पुस्तक सबै नेपालीले खोजेर पढ्नुपर्ने बताए ।
समीक्षक नारायण अधिकारीले कृतिमा लीला र प्यारडक्स (विरोधाभास) को सौन्दर्यपूर्ण प्रस्तुति रहेको बताए । उनले ‘बग्दैबग्दै’ का कविताहरू प्रस्तुतिमा सौन्दर्ययुक्त र विषयमा विविधतामय रहेको र देशलाई छोडेर टाढा बस्नेहरूको कथाव्यथा र यथार्थ प्रस्तुत गरेको बताए । साहित्यकार गोपाल रेग्मीले गद्यकविताको अधिकतम शक्ति ‘बग्दैबग्दै’ राम्रोसँग प्रदर्शन गरेको धारणा राख्दै कृतिका कविताहरू मिठासले भरिएको बताए ।
प्रमुख अतिथिको मन्तव्य राख्दै अनेसास केन्द्रका संस्थापक होमनाथ सुवेदीले जगन्नाथ पौडेल सबैको प्रिय कवि बनेको बताए ।

कवि सिद्धिचरणको ११३ औँ जयन्तीको स्मरण गर्दै साहित्यकार तथा बीओटी महासचिव प्रकाश नेपालले सिद्धिचरण श्रेष्ठ नेपाली कवितापरम्परका विशिष्ट क्रान्तिचेतका कवि रहेको बताए ।
लोकार्पण तथा परिचर्चा कार्यक्रममा अमेरिका नेपाल शिक्षा सदनका संयोजक भूपाल पौड्याल र कृतिकारका अर्धाङ्गिनी कृष्ण शर्माले लोकार्पित कृति ‘बग्दैबग्दै’बाट कविता वाचन गरेका थिए भने भर्जिनिया, डीसी, बाल्टिमोरवरपरका साहित्यकार, कवि, सामाजिक अभियन्तादेखि राजनीतिका प्रतिष्ठित नेपालीहरूको जमघट रहेको थियो । अनेसास डीसी च्याप्टरका अध्यक्ष पुस्कर पन्तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष भीम रेग्मी, साहित्यकार तथा अनेसासका सल्लाहकार गोविन्द गिरि प्रेरणा, अनेसास केन्द्रका सदस्य सुदीपभद्र खनाल, डीसी च्याप्टरका उपाध्यक्ष, डीसी नेपालका सञ्चालक तथा कवि कवीन्द्र सिटौला, लेखक शिव लामिछाने, गीतकार अम्बिका गुरुङ, कवि नीरा शर्मा, मणि भट्टराई, लेखनाथ भण्डारी, सन्तोष श्रेष्ठ, सामाजिक अभियन्ता तथा साहित्यप्रेमी केदारप्रसाद तिमल्सिना, रोम ज्ञवाली, परशुराम भण्डारी, इनेप्लिजका वरिष्ठ पत्रकार विश्वराज थापा, मञ्जु विमली, डीसी च्याप्टरका सचिव शकुन्तला अधिकारी, सदस्य मनीष पोख्रेल, सामाजिक व्यक्तित्व प्रेम पौडेल, राकेश तुलाधर, रमेश खनाल, जीवन तिवारी, कमल भट्टराई, काशी खड्का, माधव पौडेललगायत दर्जनौँ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने सुरुवाती सञ्चालन अनेसास डीसीका महासचिव नीलकण्ठ सुवेदीले गर्दै बाँकी सम्पूर्ण कार्यक्रम संस्थाका सदस्य पुष्पा खनालले गरेकी थिइन् । डीसी च्याप्टरका उपाध्यक्ष सुनिता खत्रीले स्वागतगीत मार्फत अतिथिहरू र उपस्थितिले भरिएको हललाई स्वागत गरेर कार्यक्रमलाई थप रोचक बनाएकी थिइन् । कार्यक्रममा कवि जगन्नाथ पौडेलले आफ्नो मन्तव्य राख्दै उपस्थित सम्पूर्ण व्यक्तित्वहरू र कृति प्रकाशन गर्न सहयोग पुर्याउने सबैप्रति कृतज्ञता ज्ञापन गरे ।