Trending Now

प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ ।

काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरे । उक्त अवसरमा लेखक रोदनले गजलवाचन समेत गरेका थिए ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताए ।

‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् । धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ । केही पुस्तक बुककेसमा सजाएर राखिन्छ । केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ । केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो ।’

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थपे ।

कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए । ‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने ।

मझेरी लिपे पनि, नलिपे पनि बिहान हुन्छ । गजल लेखे पनि, नलेखे पनि जीवन चल्छ । मझेरी लिपेपछि घर सुन्दर भए जस्तै गजलले आफ्नो जीवन बाँच्ने तरिकामा सौन्दर्य थपिदिएको उनको भनाइ छ । ‘थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन् । यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन् । आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ । अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु ।’

यी सम्पूर्ण गजल आफूले गोरखाको पाण्डेबेसीको माटोमा बसेर लेखेको उनले जनाए । ‘म जति साहित्यलाई प्रेम गर्छु, त्यति नै अध्यात्मलाई । मैले लगाइरहेको संन्यास मालामा १०८ दाना छन्, जो मेरो हृदयलाई छोएर गलामा बसिरहन्छ । त्यसैले यस पुस्तकमा १०८ गजल र १०८ फर्द समावेश गरेको छु,’ लेखक रोदनले भने ।

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदनको कर्मथलो पनि यहीँ हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

मफलरको आगमन नेपाली गजल विधाको ‘टाइमलाइन’मा एउटा उल्लेखनीय मितिका रूपमा दर्ज हुने विश्वास फाइनप्रिन्टले लिएको छ । गजल लेख्नेहरूले वा गजलको समालोचना गर्नेहरूले ‘मफलर’लाई मानकका रूपमा लिने पनि फाइनप्रिन्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments are closed.