प्रज्ञा पनेरुको उपन्यास “विषाणु ऋ” सिड्नीमा लोकार्पित

सिड्नीमा बिगत पाँच बर्षदेखि बसोबास गर्दै अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास “विषाणु ऋ” को सिड्नीमा हिजो २५ फरबरी, २०२४ का दिन म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा लोकार्पण भएको छ । ब्ल्याकटाउन सिटि काउन्सिलले सहयोग गरेको सो कार्यक्रममा लेखक प्रज्ञा पनेरु, गजलकार ज्ञानुवाकर पौडेल र त्रिभुवन विश्वबिद्यालय नेपाली भाषाकी पूर्व प्राध्यापक गार्गी शर्माले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भएको थियो ।

विषाणु ऋ “भित्र रहेका विषयवस्तु माथि केन्द्रित भएर लेखक प्रज्ञा पनेरुसँग लेखक सानु घिमिरेले आधा घण्टा लामो पुस्तक वार्ता गरेको थिईन्, । पुस्तक भित्रका बिभिन्न घटनाक्रमहरु, लैगिंक चेतका कुराहरु, समग्रमा लेखकको भनाई र दृष्टिकोण प्रस्तुत भएको थियो ।

पुस्तक माथि टिप्पणी गर्दै लेखक तथा समालोचक सुरेन्द्र दवाडीले यो पुस्तक उत्तर आधुनिकीकरणको उत्कृष्ट नमुना भएको बताउँदै पुस्तक भित्र प्रस्तुत भएको मनोवैज्ञानिक पक्ष, साइकोथेरापीको प्रयोगदेखि नेपाली चर्चित साहित्यकार पारिजातको लोकप्रिय उपन्यास “शिरिषको फूल”को पात्रलाई पुनर्लेखन गरि लेखिएको भागलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

सिड्नीका अधिकांश लेखक तथा साहित्यप्रेमीहरु उपस्थितमा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) अस्ट्रेलियाकी निवर्तमान अधक्ष्य ममता तिवारी , अस्ट्रेलियन भुटानी एसोसिएसनका सल्लाहकार तथा भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगे , गजलकार ज्ञानुवाकर पौडेल तथा पूर्व प्राध्यापक गार्गी शर्माले लेखक प्रज्ञा पनेरु तथा उनको कृति विषाणु ऋलाई शुभकामना दिनु भएको थियो ।सभापति, प्रमुख अतिथी र बिशेष अतिथी बिना अर्ध औपचारिक रुपमा आयोजना गरिएको सो कार्यक्रमलाई नारिनिकुंज अस्ट्रेलियाकी पूर्व अध्यक्ष तथा लेखक प्रतिज्ञा अधिकारीले संचालन गर्नु भएको थियो । विषाणु ऋ उपन्यास समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो ।