प्रकाश विकल्पको ‘एन्टिथेसिस’ पुस्तक सार्वजनिक

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘एन्टिथेसिस’ को आज विमोचन गरेका छन् । शिखा बुक्सद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा.भट्टराईले वैकल्पिक राजनीतिक अभियन्ता विकल्पको पुस्तकले नयाँ अग्रगामी राजनीतिक वैचारिकीबारे जिज्ञासु तथा नयाँ पुस्ताका युवाहरुका लागि उपयोगी भएको बताए । उनले यस्ता कृतिलाई विद्यालय तहसम्म लैजानुपर्नेमा जोड दिए ।
कृतिमा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयवस्तु समेटिएका छन् । मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस कृतिमा मानव समाजको वैज्ञानिक विकासक्रमलगायत विषय समेटिएका लेखकले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्रीहरु जनार्दन शर्मा र गणेश शाह, साहित्यकार डा.सुधा त्रिपाठीलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरेका थिए ।