रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

काठमाडौँ —  काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रद्वारा ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको उक्त पुस्तक उपस्थित सहभागीहरूको एउटा समूहले पनि  लोकार्पण गरेको थियो ।

संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्र— यी चार विषय उठान गरेको उक्त पुस्तक यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको मिश्रको भनाइ छ ।

प्रजातान्त्रिक आन्दोलन नयाँ आयाम रहेको र यो पुस्तक कुनै व्यक्ति एवम् धारणा मात्र होइन, देशलाई केन्द्रमा राखेर लेखिएको कम्युनिस्ट नेता तथा पूर्वमन्त्री मैनालीले बताए । मिश्रले आफ्नो विचारभन्दा माथि उठेर देशको समस्या समाधान हुनुपर्छ भनेर यो पुस्तक लेलखेको उनको भनाइ छ । ‘००७, ०४६ र ०६३ सालको आन्दोलनले प्रजातन्त्र बोक्यो । तर देशको विचार बोकेन । प्रजातन्त्रका नाममा अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप देशमा भइरहेको छ । यसको केही नेताले विरोध गरे,’ मैनालीले भने, ‘तर त्यो संस्थागत भएन । यी लगायत थुप्रै विषयको चित्रण पुस्तकले गरेको छ । पुस्तक समसामयिक र बहस गर्न लायक विषयवस्तुसहित आएकाले सबै राजनीतिज्ञलाई यो पुस्तकले बहस गर्न प्रेरित गर्छ ।’

अर्का टिप्पणीकार जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवालीले यो पुस्तक सबै राजनीतिज्ञ, राजनीतिको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताका लागि सन्दर्भ सामग्री रहेको दाबी गरे । ‘यो किताब हेरेर राजनीतिक दलले मेनिफेस्टो लेख्न सक्छन् । यो पुस्तकले नेताहरुको आफ्नो स्थान के हो ? भनी प्रश्नसमेत गरेको छ,’ उनले भने ।

पुस्तक देशका सबै प्रमुख पुस्तक पसलमा उपलब्ध छ । यसको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

Comments are closed.