राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, प्राध्यापक गीता त्रिपाठी र लेखक राजकुमार बानियाँलगायतले कृतिको विमोचन गरेका हुन् ।
विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार बानियाँले वक्ताहरू श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए ।

कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भने, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन् । कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको होइन, आममान्छेको चिन्ता छ । त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ ।’

कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने त्यस्तो कृतिलाई आफूले सफल कृति ठान्ने भन्दै यो कृतिलाई उनले सफल कृतिको संज्ञा दिएका छन् ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ‚ जसमा ५४ कविता संग्रहित छन् ।

 

Comments are closed.