राम विन्दु श्रेष्ठको सोभियत सम्झना लोकार्पण

 

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा इन्जिनियर राम विन्दु श्रेष्ठको संस्मरणात्मक पुस्तक ‘मेरा सोभियत संझनाहरु’को लोकार्पण गरिएको छ । काठमाडौंँमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तक विमोचन गर्नु भएको थियो ।
पुस्तकका लेखक ई. राम विन्दु श्रेष्ठले कार्यक्रममा आफ्नो भनाइ राख्दै पुस्तकमा तत्कालीन सोभियत संघमा इन्जिनियरिङ अध्ययन गर्न जाँदा आफूले आर्जन गरेको अनुभूति, नियात्रा, सिकाई र भोगाइका विविध पक्षलाई समेटेर पुसतकको रुप दिएको बताउनु भयो ।
कार्यक्रममा पुस्तकबारे समीक्षा राख्दै नेपाल रुस साहित्य समाजका महासचिव इन्जिनियर चन्द्रकान्त आचार्यले श्रेष्ठको पुस्तकले सोभियत संघमा रहँदाका आफ्ना अनुभूति र सम्झनालाई ताजा गरेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. खेम कोइराला बन्धुले श्रेष्ठले पुस्तकमा आफ्नो स्मृति इमान्दारीपूर्वक प्रस्तुत गरेको बताउनुभयो । पुस्तकमा संस्मरण, नियात्रा र कवितामार्फत तत्कालीन सोभियत संघका संस्कृति, इतिहास, भू्गोल, समाज र साहित्यलगायत विविध आयाम समेटिएको बताउनुभयो । उहाँले पुस्तकमा श्रेष्ठको साहित्यिक गुण र छवि झल्किएकोमा प्रशंसा गर्नुभयो ।
यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नहेन्द्र प्रधानले पुस्तकमार्फत रुसका साहित्य र अनुभवबाट रुस नपुगेकाहरुले पनि त्यसबारे जान्न पाउने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तकले सोभियत संघको उतारचढाव पछिको मनोविज्ञानबारे चर्चा गरेको बताउनुभयो। यो पुस्तक श्रेष्ठको नियात्रा, संस्मरण मात्र नभई चिन्तनको फल रहेको उहाँको भनाइ थियो। उहाँले पुस्तक साहित्यमा अनुराग राख्नेका लागि मात्र नभइ राजनीतिमा चासो राख्नेहरुका लागि पनि उपयोगी हुने बताउनुभयो ।
कार्यक्रम लेखक प्रभा बरालको संचालन, इन्जिनियर सुष्मा खत्री रन्जितको स्वागत मन्तव्य र प्रा डा जंगब चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Comments are closed.