काठमाडौँ — सागर शमशेर जंगबहादुर राणाको दोस्रो पुस्तक ‘किङ्डम लस्ट’ को सार्वजनिक गरिएको छ । राणाले नयाँ पुस्तक ‘किङ्डम लस्ट’ मा नेपालको प्रजातन्त्र प्राप्ति गर्ने क्रममा भएका प्रयासबारे उल्लेख गरेका छन् ।
पुस्तकमा सन् १९५१ देखि २००८ सम्मको राजनीतिक घटनालाई समेटिएको छ । पुस्तकमा मोहन शमशेर राणाको नेतृत्वमा रहेको राणा र कांग्रेसबीचको मिलिजुली सरकारदेखि सन् २००८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेको अवधिसम्मलाई उल्लेख गरिएको छ । राणाले आफ्नो पहिलो पुस्तकमा ‘सिंहदरबार’ मा नेपालमा राणा शासनको सुरुआत र अन्त्यबारे लेखेका थिए ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै लेखक राणाले टोनी मोरिसनको भनाइलाई उद्धृत गर्दै भने, ‘यदि तिमीलाई त्यस्तो पुस्तक बढ्न मन छ र त्यो अहिलेसम्म कसैले पनि लेखेको छैन भने तिमी आफूले लेख्नैपर्छ ।’ राणाले राणाकालको बारेमा जानकार भए पनि पहिलो र दोस्रो दुवै किताब लेख्दा करिब एक सय नेता, साथी र अन्य व्यक्तिहरूसँग कुराकानी गरेको बताए । ‘सन् २००७ बाट थालेको कुराकानी थालिएको थियो भने अन्तिममा स्वर्गीय सत्य मोहन जोशीसँग कुराकानी गरेर टुंगिएको थियो,’ उनले भने ।
पुस्तकमाथि टिप्पणी गर्दै पूर्वसभामुख दमननाथ ढुंगानाले राणाको पुस्तकमा आधिकारिकता रहेको बताए । ‘सन् २००७ सालमा मोहन शम्शेर राणाको सरकारदेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहको सानदार बिदाइसम्म उल्लेख गरिएको छ,’ उनले भने, ‘पुस्तकमा उल्लेख गरिएको नेपालको राजनीतिक इतिहास पढेर लाभ लिनुपर्छ ।’ ढुंगानाले लेखक राणालाई अब तेस्रो पुस्तकको रुपमा ‘गणतन्त्र’ बारे लेख्न सुझाव दिँदै त्यसलाई व्याख्या गर्न पनि आग्रह गरे ।
अर्का टिप्पणीकार सांसद रघुजी पन्तले नेपालको राजनीतिक इतिहास जान्न खोज्नेले ‘किङ्डम लस्ट’ र यसअघिको पुस्तक ‘सिंहदरबार’ पुस्तक पढ्नुपर्ने बताए । उनले समग्र नेपालको इतिहास बुझ्नका लागि राणाकालबारे फेरि पढ्नुपर्ने बताए । सांसद पन्तले त्यसबेला राम्रो र नराम्रो दुवै काम भएको उल्लेख गरे । ‘तर यो पुस्तकमा २०४६ सालको पहिलो जनआन्दोलनलाई लेखकले अझ बढी स्थान दिँदा राम्रो हुन्थ्यो,’ उनले भने । उनले पुस्तकमा कांग्रेसको मात्र नभएर कम्युनिस्टतर्फको विषय ल्याउन अझ राम्रो हुने सुझाव दिए ।
बेलायतबाट आएका अर्का टिप्पणीकर्ता इतिहासकार जोन फ्रान्सिस वेलप्टनले लेखक राणामा पुस्तक लेख्नका लागि पर्याप्त क्षमता भएको र पुस्तक तथ्यांकसहित इतिहासको एउटा पाटो भएको बताए । ‘सन् १९५१ देखि शाह बलियो भए । त्यसअघि राणा बलियो थिए । शाह बलियो भएपछि पनि राणा र शाहबीच वैवाहिक सम्बन्ध रहिरह्यो,’ उनले भने ।