नवसर्जक साहित्य चौतारीका महासचिव समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ को विमोचन भयो । नवसर्जक नेपालका अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षता र सल्लाहकार देवी नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो ।
हेटौंडा माघ १, २०७९ । नवसर्जक साहित्य चौतारी बालबालिकाहरूद्वारा स्थापित बालबालिकाहरूका लागि सञ्चालित एक साहित्य अभियान हो । चौतारीका संस्थापक संरक्षक दीपक गौतमले विभिन्न कार्यशाला, प्रशिक्षण, प्रतियोगिताहरू गराएपश्चात् नै नेपालभरका नवसर्जकहरू अन्य स्थापित सर्जकसँगसँगै मञ्चमा रचना वाचन गरिरहेका भेटिन्छन् ।
छोटो समयमा नै नेपालदेखि अन्तर्राष्ट्रियरुपमा पहिचान बनाइसकेको यस अभियानमा आज अर्को खुशियाली छाएको दिन ।
माघे सङ्क्रान्ति चाडको दिन । शहरमा हुस्सुले छोप्दै गरेको दृश्य । एक्कासी बढेको चिसो । हेटौंडा क्याम्पसको सभाहलमा समर्पण न्यौपानेको कविता कृतिलाई पर्खिरहेका दर्शक स्रोताहरू ।
भव्य कार्यक्रमबीच नवसर्जक साहित्य चौतारीका महासचिव समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ को विमोचन भयो । नवसर्जक नेपालका अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षता र सल्लाहकार देवी नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो ।
यस्तै १४ वर्षमा अद्भुत इन्द्रेणी खण्डकाव्य प्रकाशन गरेका नवसर्जक नेपालका उपाध्यक्ष विभूति अधिकारीद्वारा स्वागत गरिएको कार्यक्रममा वक्ता तथा समीक्षकहरूमा भावना सापकोटा र घनश्याम घिमिरे रहनुभएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, नवसर्जक नेपालका सल्लाहकार मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, गायक तथा कवि पुरुषोत्तम आचार्य लगायतका सर्जकहरूले मन्तव्य राख्नु भएको थियो ।
उमेरले १४ वर्ष पुगेका समर्पण न्यौपाने जि.एस. निकेतन मा.वि. मा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँ विभिन्न साहित्यिक प्रतियोगितामा सम्मानित समेत भैसक्नु भएको छ । कार्यक्रममा उहाँले यसै कृतिभित्रका २ वटा कविता वाचन गर्नु भएको थियो ।
हेटौंडा क्याम्पसको सभा हलमा सञ्चालित कार्यक्रमको सहजीकरण उषाकिरण अधिकारीले गर्नु भएको हो