‘सरित’ को लघुकथासंग्रह सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ को पहिलो लघुकथासंग्रह ‘एक मुठी घाम’ सार्वजनिक भएको छ । विगत साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित स्रष्टा सरित साहित्यिक पत्रकारिता र सम्पादन कर्ममा पनि सक्रिय हुनुहुन्छ । उहाँको समग्रमा पन्ध्रौं र विधागत हिसाबले लघुकथाको पहिलो कृति ‘एक मुठी घाम’ हालै प्रकाशित भएको छ ।

डाइनामिक बुना इन्क र ब्लाइन्ड कोप्र्स (सियाटल, अमेरिका) द्वारा प्रकाशित यस लघुकथासंग्र्रहमा सरितका ४१ थान लघुकथा संग्र्रहित छन् । संग्रहमा संगृहित अधिकांश लघुकथा समसामयिक राजनीतिक परिवेशमा लेखिएका छन् । राजनीतिक परिवर्तन, जनताका अपेक्षा, महँगी, भ्रष्टाचार, बेथितिमाथि नै अधिकांश लघुकथा केन्द्रित छन् । त्यसबाहेक जनतामा देखिएको चरम निराशा र जनताले नयाँपनको अपेक्षा गरेका कथाहरू छन् ।