एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण

दायित्व प्रतिष्ठानको भवन बु. न. पा. ८ मा घटस्थापनाको शुभअवसर ‘एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण गरिएको छ । दायित्व वाङमय प्रतिष्ठान, नेपालको आयोजना तथा वरिष्ठ साहित्यकार श्री सूब सेनको प्रमुख आतिथ्यमा शरद निरौलाद्वारा रचित ‘एटलान्टिक देखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति एक समारोहकाबीच लोकार्पण गरियो ।

सो कार्यक्रमका प्रमुख अतिथि श्री सूब सेनले भन्नुभयो- ‘अमेरिकामा बसेर, कामबाट समय उघाएर नेपालीभाषा साहित्यको सेवा गर्ने श्री निरौला साँच्चिकै देशभक्त व्यक्तित्व हुन् । उनले गरेको सत्कर्मले जननी र जन्मभूमिका लागि ठूलो योगदान हुनेछ ।’ कृतिमाथि समीक्षात्मक मन्तव्यको क्रममा डा. लेखप्रसाद निरौलाले कृतिको उपादेयताबारे चर्चा गर्नुभएको थियो भने भूमिका लेखक तथा नियात्राकार श्री पवन आलोकलगायत कवि ठाकुर शर्मा भण्डारी र डा. रामप्रसाद दाहालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सोही अवसरमा मन्जु निरौलाद्वारा रचित ‘यथार्थमा अमेरिका- २ ’निबन्धात्मक कृतिमाथि अन्तरक्रिया पनि गरिएको थियो र वक्ताको रुपमा प्रशिद्ध आख्यानकार भागिरथी श्रेष्ठ र प्रा. माधव घिमिरेले प्रस्तुत कृति अमेरिका चिनाउन उपयोगी भएको कुरा उल्लेख गर्नुभएको थियो ।

दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व तथा कवि यादव भट्टराईको उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा हाल अमेरिकामा बस्नु भएका नियात्राकार श्री शरद निरौलाको भिडियो मन्तव्य सुनाइएको थियो भने यथार्थमा अमेरिकाकी लेखिका श्री मन्जु निरौलाले पनि आफ्ना अनुभवहरू सुनाउनु भएको थियो ।