साहित्यकार शिव प्रकाशको ‘समभोक’ उपन्यास लोकार्पण

काठमाडौँ ।  साहित्यकार शिव प्रकाशको ‘समभोक’ उपन्यासको विमोचन गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शङ्कर तिवारी, सुजना घिमिरे, लेखक र उनका आमा र श्रीमतीले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै पत्रकार विजय पाण्डेले संसारमा भोक, भोग र सम्भोग गरी तीन कुरा अजम्बरी रहेको बताए । यही विषयभित्र रहेर लेखकको दर्शन आएको र भोकका विषयमा गहन रूपमा लेखिएको बताए । उनले भने, “भोक मानिसको प्रगतिको आधार पनि हो ।” संसारमा रहेका यिनै तीन चिजमा शिवप्रकाशले निरन्तर कलम चलाए आगामी लेखनयात्रा अझ सुन्दर हुने पनि उनले बताए ।

नेता गगन थापाले कृतिमा हरेक कुरालाई भोकसँग दाँजेर हेरिको बताए । भोकका बारेमा धेरै कुरा छन्, जसले पाठकलाई निकै राम्रो खुराक दिने थापाले बताए । तर यसलाई राम्रोसँग अध्ययन गर्न सक्नुपर्ने उनले बताए । “संसारमा जेजति कुरा जन्माउँछ, ती सबै भोकले जन्माउँछ, मान्छेले भगवान् जन्माउँछ तर भगवान् पनि मानिसको भोकले जन्माएको हो ।” मान्छेले भगवान्को होइन भोकको पूजाआराधाना गर्छ भन्ने कुरा यस कृतिमा रहेको थापाले बताए । “शारीरिक भोक, पैसाको भोक, यौनको भोकलाई यसमा देखाइएको छ” थापाले भने, “डायस्पोरिक सेटिङमा बोस्टनमा केही नेपाली पात्रहरू, उनीहरुबीचको सम्बन्ध, सङ्घर्ष, उठबस आदि कुरालाई लिएर शिव प्रकाशले आफ्नो दर्शनमा स्थापित गर्नुभएको छ ।”
कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, विश्लेषक शङ्कर तिवारी, समाजशास्त्री सुजना घिमिरेलगायतको उपस्थिति थियो ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको समभोकको बजार मूल्य रु ४२५ राखिएको छ ।

Comments are closed.