पोखरा, शोभाकर बरालद्वारा लिखित आत्मकथा ”मैले टेकेको धरती” लोकार्पण भएको छ । नवप्रभात मा. वि नयाँबजार पोखरामा भएको विशेष कार्यक्रममा वरिष्ठ शिक्षा विद जर्ज जोनले उक्त पुस्तक सार्वजनिक गरका हुन् ।
पुस्तकका बारेमा साहित्यकार दुर्गा शाह”बाबा”ले मन्तव्य दिएका थिए । लामो समय शिक्षण पेसामा आवद्ध रहेर अवकाशपछि खाली रहेको समयलाई सदुपयोग गर्दै पुस्तक प्रकाशित गरेका बरालको यस कृतिले नयाँ र पुराना पुस्ता जोड्ने सेतुको काम गरेको शाहले बताए । पुस्तक पढ्दै गर्दा पट्यार लाग्ने ठाउँ नै नभएको बताउँदै आफ्नै गाउँ पाखाको परिवेशको याद आउने बताए। दुस्खका संघर्षहरूका कथाले भरिएको बरालको कृतिले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने प्रेरणा समेत दिएको बताए। सङ्घर्ष नै जीवन हो । कसरी सङ्घर्षबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने थाहा पाउन पनि बरालको आत्मकथा अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा सेवा निवृत्त शिक्षक तथा समाजसेवी तोयानाथ लामिछानेले पनि बोलेका थिए । शोभाकर बराल असल शिक्षक मात्रै नभएर असल पितासमेत भएको स्मरण गरे ।आफ्ना पाँचै छोराहरूलाई उच्च शिक्षा दिलाउनु चानचुने कुरा नभएको बताउँदै सबै पिताहरू आदरणीय भएर पनि केही पिताहरू सबैका पूजनीय हुने भन्दै शोभाकर बराल हामी सबैका प्रेरणाका स्रोत हुन सक्ने बताए ।
प्रमुख अतिथि शिक्षाविद् जर्ज जोनले आजको कृति लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । सबै मान्छेहररूले कर्म गरे पनि कमै मान्छेले मात्रै सत्कर्म गर्ने र शोभाकार बराल सत्कर्म गर्ने असल अभिभावक र शिक्षासेवी भएको बताएँ ।
कार्यक्रममा कृतिकार शोभाकर बरालले पनि आफ्नो भनाइ राखेका थिए ।अवकाशपछि माइला छोरा खगराज बरालले बारम्बार लेख्ने हुटहुटी नजगाइदिएको भए यो पुस्तक तयार नहुने बताउँदै आज आफ्नै संस्था सेवा निवृत्त शिक्षक समुदायबाट पुस्तक लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए ।आफ्नो कृतिले नयाँ पुस्तालाई आफ्ना पुस्ता, परम्परा र संस्कृतिको बारेमा थोरै भए पनि ज्ञान दिने बताए।
कार्यक्रममा स्थानीय समाजसेवी मित्रलाल बरालले कृतिकारको परिचय गरेका थिए । कार्यक्रममा प्रदेश सचिव मनमाया पङ्गेनी भट्टराई , जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमाल, कृतिकारका जेठा छोरा नवराज बराल, चुनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।