ब्रह्मदत्त वाग्लेको कवितासङ्ग्रह `उपहार´ विमोचन

भरतपुर, साउन ।
कवि ब्रह्मदत्त वाग्लेको कवितासङ्ग्रह `उपहार´ विमोचन भएको छ । कविहरू गोविन्दराज विनोदी, रामबाबु घिमिरे, श्रीभक्त अच्युत वाग्ले, गीता वाग्ले, केदारनाथ खनाललगायतले संयुक्त रुपमा कृति विमोचन गरेका थिए ।
चितवन साहित्य प्रतिष्ठानबाट प्रकाशित कृतिलाई तारा वाग्लेले प्रकाशन सहयोग गर्नुभएको हो । कृतिमा ६३ वटा कविता छन् ।
शनिबार चितवन साहित्य परिषद् भवनमा उपहार पुस्तकको विमोचनसँगै चर्चा गरिएको छ । कृतिमाथि डाक्टर धनेश्वर भट्टराई, डाक्टर एकनारायण पौड्याल र प्राडा नारायणप्रसाद खनालले टिप्पणी राखेका थिए । सङ्ग्रहका कवितामार्फत कवि वाग्लेले प्रवासी व्यथा र मातृभूमिको ममतालाई उतारेको वक्ताहरुले बताए । विचार, भाव, बिम्ब, प्रतीक र काव्य शिल्पले कविताहरू पठनीय बनेको पनि वक्ताहरूले टिप्पणी गरे ।
४० वर्षदेखि प्रवासमा बस्दै आएका वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गैर आवासीय नेपाली सङ्घ, चितवन सहायता कोष बेल्जियमका सल्लाहकार हुन् । प्रवासका नेपाली समुदाय माझ आफ्नो बौद्धिक पहिचान बनाएका वाग्लेले बेल्जियममा नेपाली भाषा पठनपाठनमा सहजीकरण गरिरहेका छन् । उपहार वाग्लेको पहिलो पुस्तक हो ।