गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक

नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीले बिहीबार उक्त पुस्तकको विमोचन गरे ।

पुस्तकमा योञ्जनले लेखेका दुई सय ४१ गीत समावेश रहेको प्रकाशक संस्था फाइन प्रिन्टले जनाएको छ । पच्चीस वर्षदेखिको खोज र सङ्कलनपछि गीत सङ्ग्रह ‘गोपालय’ तयार भएको योञ्जनकी धर्मपत्नी रिञ्छेनले बताइन् ।

उक्त सङ्ग्रहमा योञ्जनको चर्चित ‘मेरो गीत मेरै प्रतिविम्ब हैन’लगायत गीत समावेश छन् । योञ्जनले लेखेका मायाप्रेम, आध्यात्म, दर्शन, बाल मनोविज्ञान, नारी सचेतना र राष्ट्रभक्तिले ओतप्रोत गीत सङ्ग्रहित गरिएको धर्मपत्नी रिञ्छेनले उल्लेख गरिन् । गीत सङ्ग्रह निकाल्ने धेरै पहिलेदेखिको आफ्नो सपना पूरा भएको भन्दै उनले योञ्जनमाथि अझ धेरै काम गर्न बाँकी रहेको बताइन्

योञ्जनका गीत र व्यक्तित्वबारे कवि विप्लव प्रतीकले आफ्नो धारणा राखे। योञ्जनलाई कविका रुपमासमेत उनले चिनाए। योञ्जनका गीतमा कवितात्मक भाव, शैली र सामाथ्र्य पाइने प्रतीकको भनाइ थियो । कार्यक्रममा योञ्जनद्वारा रचित र सङ्गीतबद्ध गीतलाई गायक कर्म ग्याल्जेन र गायिका वानिका प्रधानले प्रस्तुत गरेका थिए ।

योञ्जनको २५औँ स्मृति वर्ष पारेर फेस्टिवलमा उहाँका गीतको साङ्गीतिक प्रस्तुति ‘गोपालय’ पनि राखिएको थियो । ‘यति चोखो, यति मिठो’, ‘हिमालसरि म’, ‘तिम्रो जस्तो मुट’लगायत योञ्जनका चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए ।