वरिष्ठ पत्रकार बबिता बस्नेतको कृति ‘समय साक्षी’ अनावरण

वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ बजारमा आएको छ बुक हिलले आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शम्शेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका माता पिताले संयुक्त रुपमा पुस्तकको अनावरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरुपमा पुस्तक देखिएको बताए । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको र लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरिएको जानकारी कार्यक्रममा राणाले गराए ।
पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै कथाकार ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको बताइन । विदेश गएका बेलाको यात्रा संस्मरणका विषय बढी रुचि लाग्ने खालका र “चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको तथा कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, । अंग्रजी नराखी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, । पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ”, कथाकार ढुङ्गानाले भनिन् ।
बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको र यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन । कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको जानकारी दिए ।

 

Comments are closed.