प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. देवी पन्थीद्वारा लिखित ‘गजल सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु’ नामक कृति काठमाडौं, भक्तपुर र ललितपुरका स्रष्टाहरूबीच लोकार्पण गरियो। चारु साहित्य प्रतिष्ठानले गजलको विकल्प सिद्धान्त र समालोचना विधामा पुस्तक प्रकाशन गरेको छ।
चारु प्रणेता डा.देवी पन्थीको सभापतित्व तथा साहित्यकार रामकृष्ण वान्तवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा समाजसेवी कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल, माया पौडेल, सुप्रभात भण्डारी, ध्रुवप्रसाद गजुरेल उपस्थित थिए।
प्रमुख अतिथि वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुद्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरी पानी वर्षिने र चारु संसारभर
फैलने बताए।
उनले चारुको लोकप्रियता नेपाल, भारतलगायत विश्वका अनेक देशमा बढ्दै गएको र यसबाट नेपाली साहित्यकार पनि नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश विश्वभर प्रवाह भएको बताए। चारु, खोरिया, टुक्का, उदक, एकलाइने कविता, सन्देश, पन्चांग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना पनि उनले गरे।
कार्यक्रममा ताराप्रसाद चापागाईंद्वारा लिखित ‘टुक्का’ पुस्तकको प्रमुख अतिथि रामकृष्ण वान्तवा र अतिथिद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो। अध्यक्ष डा. पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू संगठित भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै यो उद्देश्य पूरा गर्न ‘आविष्करण नेपाल’ नामको संस्था गठन भइसकेको बताए। कार्यक्रममा प्रमुख अतिथि वान्तवाले ‘आविष्करण नेपाल’ का मनोनित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए।
उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एकलाइने कविता, उदक, सन्देश, तीज गीत प्रस्तुत गरेका थिए। टुक्का साहित्यका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन, खोरिया साहित्य सृजना, टुक्का साहित्य समाज अन्य सबैलाई धन्यवाद दिए।
के हो चारु ?
चारु संस्कृत शब्द हो। यसको अर्थ सुन्दर ‘आकर्षक’ हुन्छ। यसको विपरित गजलको अर्थ सुन्दरी या नारीसँग प्रणयवार्ता हुन्छ। तसर्थ चारु गजलको विकल्पमा प्रयोग गरिएको गजलकै ढाँचामा, गजलकै स्वादमा बेवहर लेखिएको रचना हो।
गजलमा नारीलाई विशेष पात्र बनाएजस्तै चारुमा पुरुषलाई विषयवस्तु बनाएर उजागर गर्न सकिन्छ। गजलको विषयवस्तु नारी र चारुको विषयवस्तु पुरुष भएता पनि व्यवहारिक अर्थमा बहरमा लेखिएको गजल र बेबहरमा लेखिएको चारु हुने डा. पन्थी बताउँछन्।
‘मुसलसल र गैरमुसलसल गजलका प्रकार हुन् सवै शेर एउटै विषयमा भए मुसलसल र हरेक शेरको विषयवस्तु फरक–फरक भए गैर मुसलसल भनिन्छ। त्यस्तै, चारुका पनि राग, विराग अनि रागविराग गरी तीन प्रकार छन्। गजल र चारुमा यौन प्रस्ताव या यौन गन्धले प्राथमिकता पाउछन्। तर, प्रेम यौन मात्र होइन पवित्र पनि हुन्छ भन्ने दर्शाउन सकिन्छ। आमाछोरा, दाजुभाबहिनी, देश, जेष्ठ नागरिक तथा भगवानप्रतिको प्रेमलाई राग भनिन्छ। राग चारुको उपविधा हो।’ उनी भन्छन्।
त्यस्तै, हाम्रो समाजमा प्रेम मात्र छैन। समाजका विकृति, विसंगति, वेथिति, असन्तुष्टि, भ्रष्टाचार, बलात्कार, राजनीतिक या सामाजिक व्यंग्य आदि विराग हुन्। विराग पनि चारुको उपविधा हो। रागविरागको अर्थ मिश्रण हो। एउटा चारुका ५ शेरमा अलगअलग विषय उल्लेख गरिएको छ भने त्यो रागविराग हुने डा. पन्थीको भनाइ छ। मोतिराम भट्टले पहिलोपल्ट विसं. १९४२ मा गजल बनारसबाट नेपाल भित्र्याए। उनले गजल बहर (फारसी छन्द) मा यहाँ ल्याए। त्यसपछि शम्भुप्रसाद ढुंगेल, उपेन्द्रबहादुर जिगरले पनि गजल बहरमै लेखे। पछि १९८० तिर भीमनिधि तिवारीले बहरलाई छोडेर गजल लेखेपछि नेपाली गजलको धार बदलियो।