गौतमकोअनुभव र संघर्षबारे कृति ‘कुलचन्द्र गौतम : आत्मकथा’ सार्वजनिक

काठमाडौँ — नेपाली कूटनीतिज्ञ कुलचन्द्र गौतमको अनुभव र संघर्षबारे कृति सार्वजनिक भएको छ । गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै मेहनतमा राष्ट्रसंघीय मुख्यालयको उपल्लो ओहदासम्मको यात्रा कसरी तय गरे भन्ने विषय समेटिएको ‘कुलचन्द्र गौतम : आत्मकथा’ सार्वजनिक भएको हो ।

कृतिमार्फत् गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुन्छ । एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रिपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पनि पुस्तकमा समेटिएको छ ।

‘कुलचन्द्र गौतमः आत्मकथा’ मा यसअघि नेपाली कृतिमा आएकाभन्दा फरक र दुर्लभ अनुभवहरू समेटिएको उक्त पुस्तक प्रकाशक नेपालयले जनाएको छ । यसअघि पनि पब्लिकेशन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ । प्रस्तुत पुस्तक ‘कुलचन्द्र गौतमः आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो ।

यो पुस्तक विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनाहरूमा पनि प्रवेश गरेको बताइएको छ । गौतमले युनिसेफको जागिर सुरु गर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए । त्यतिबेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर बिहे गरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको हुन्छ भने अर्कोतिर मेकोङ नदीको पारिबाट लगातार विद्रोही खमेररुजले गरिरहेका बम प्रहार .

यस्तै अवस्थाका बीच गौतमले काम गर्दागर्दै एकदिन नोमपेन्हको पतन हुन्छ । राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीहरुको भागाभाग चल्छ । गौतम पनि ज्यान जोगाएर भाग्छन् । त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को संकटग्रस्त मुलुकहरुमा जिम्मेवारी सम्हाल्दै जान्छन् । त्यसलगत्तै उनले युनिसेफको जागिरबाट व्यवसायिक जीवन सुरु गरेका थिए ।

संसारकै महत्वपूर्ण घटना र तिनका पात्रबारे नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रुपमा पनि यो पुस्तक अघि बढेको छ । नेल्सन मण्डेलाजस्ता विश्वप्रसिद्ध व्यक्तिहरूसँगको व्यक्तिगत अनुभवहरू पनि पुस्तकमा समेटिएका छन् ।

गौतमलाई उनी अध्ययनरत अमेरिकी संस्था ‘डार्टमथ’ले हालै मानार्थ विद्यावारिधिसमेत प्रदान गरेको छ । सन् १७६९ मा स्थापित डार्टमथ उत्कृष्ठ अमेरिकी शिक्षण संस्थाहरुको समूह ‘आइभी लिग’ अन्तर्गत पर्छ । गौतमले सन् १९६८ को सेप्टेम्बरबाट त्यहाँ पढाइ सुरु गरेका थिए । डार्टमथबाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध’मा स्नातक गरेका गौतमले लगत्तै अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयबाट ‘आर्थिक विकास र आधुनिकीकरण’मा स्नातकोत्तर गरेका थिए ।

सन् २००८ मा राष्ट्रसंघको सेवाबाट अवकाश लिएका गौतमले त्यसपछि पनि थुप्रै अन्तर्राष्ट्रिय संघ संस्थामा आवद्धता जनाउनुका साथै नेपालको शान्ति प्रकृयामा पनि नागरिक अगुवाका रुपमा सघाउ पुर्‍याउने काम गर्दै आएका छन् ।

‘मेरो जीवनकथा अब नेपाली पाठकहरू माझ पनि आउँदै गर्दा असाध्यै खुसी छु,’ गौतमले भने, ‘मैले पाएका अवसरहरु, सामना गरेका चूनौती र चालेका पाइलाहरू भावी पुस्ताका नेपालीहरूको निम्ति उपयोगी हुने विश्वास छ ।’

चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतमः आत्मकथा’ पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने बताइएको छ ।