दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण

पुरुषोत्तम दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण गरिएको छ ।
साहित्यकार पुरुषोत्तम दाहालको कविता कृति ‘काला बादलमा उज्याला पाइला’ राजधानीमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । कृतिको लोकार्पण साहित्यकार तथा राजनीतिज्ञ नरहरि आचार्य, प्रा।डा।कुमार कोइराला, साहित्यकार कलानिधि दाहाल, रिलाइन्स कलेज प्रमुख रवीन्द्रजंग थापालगायतले संयुक्त रूपमा गर्नुभएको थियो ।

प्रमुख अथिति नरहरि आचार्यले लोकार्पित कृति र कविका बारेमा बोल्ने क्रममा भन्नुभयो, ‘मानिसलाई पढ्न पाएपछि उसको कृतिलाई पढिरहनु त्यति आवश्यक हुँदैन । मैले पुरुषोत्तमजीलाई वर्षौंदेखि कृतिका रूपमा पढ्दै आएको छु । उहाँले पहिले रेडियोमा चलाउने गरेको घटना विचार कार्यक्रम पनि नछापिएको महत्त्वपूर्ण किताब हो । उहाँका व्यक्तित्वका अनेक आयाम छन् । उहाँ मानवअधिकारवादी पनि प्राध्यापक पनि कथाकार पनि निबन्धकार पनि उपन्यासकार पनि राजनीतिक विश्लेषक पनि । उहाँको यस कविता कृतिमा पनि उहाँमा जस्तै धेरै आयाम भेटिन्छ ।’
समालोचक डा। कुमार कोइरालाले आज लोकार्पित कृति विचार उद्बोधन गर्ने क्रान्तिकारी भाव भएको कृति भएको र यसको मूल्य यसै अर्थमा उच्च रहेको बताउनुभयो । यसरी नै प्राज्ञ देवी नेपालले भन्नुभयो, ‘यस सङ्ग्रहका कवितामा कवि पुरुषोत्तम दाहाल आफ्नोपन र आफ्नो दृष्टिकोण बोकेर उपस्थित हुनुहुन्छ । यसरी पुरुषोत्तम दाहाल पुरुषोत्तम दाहालकै रूपमा कृतिमा उपस्थित हुनु निकै महत्त्वपूर्ण कुरा हो ।’ समीक्षाकै क्रममा डा। नारायण चालिसेले कवि पुरुषोत्तम दाहालको व्यक्तित्वलाई चिनेपछि उहाँको कवितालाई चिन्न र बुझ्न सकिने कुरा बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘पुरुषोत्तम दाहाल आदर्श र सिद्धान्तका पर्याय हुनुहुन्छ र त्यो उहाँको कवितामा पनि पाइन्छ ।’
साहित्यकार कलानीधि दाहालले पुरुषोत्तम दाहाल जस्तो व्यक्तित्व विसंगतिपूर्ण राजनीतिको चक्रबाट विमुख भएर नेपाली साहित्य क्षेत्रमा आउनु नै पूँजी भएको बताउनुभयो । यसैगरी साहित्यकार सुमन घिमिरे ‘वर्षा’ले विचार लेख्नु जोखिमपूर्ण कुरा भएको र त्यो जोखिम कवि पुरुषोत्तम दाहालले यस कृतिमा उठाउनुभएको बताउनुभयो । समाजवादी चिन्तक शोभाकर पराजुलीले पुरुषोत्तम दाहालले समानान्तर रूपमा राजनीति, समाजसेवा, साहित्य, मानवाधिकार आदि सबै क्षेत्रमा सक्रिय रहिरहन आवश्यक भएको तथ्य औँल्याउँदै लोकार्पित कविता सङ्ग्रहले विश्व बोलेको बताउनुभयो ।

कवि पुरुषोत्तम दाहालले आफ्नो लेखन मान्यतालाई प्रकाश पार्दै ‘स्वतन्त्रतालाई उपयोग गरेर स्वतन्त्रताको हरण गर्ने विचारसँग आफू सहमत हुन नसक्ने’ बताउनुभयो । शिक्षासेवी रविन्द्रजंग थापाको सभापतित्वमा सम्पन्न समारोहमा प्रकाशकका तर्फबाट शिखा बुक्सका पुष्पराज पौडेलले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो भने गोविन्द ढकालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नन्दकृष्ण जोशी, डा।कृष्णप्रसाद भट्टराई, वियोगी बुढाथोकी, मनोजादित्य न्यौपाने, प्राडा गोविन्दमानसिंह कार्की, मुकुन्द पौडेल, मुधुसुदन पाण्डेय, प्राडा भूपप्रसाद धमला, इ।महेन्द्र पराजुली, विष्णु पन्त, प्राडा धु्रव ज्ञवाली, डा।शान्तिकृष्ण अधिकारी, खेमनाथ दाहाल, विनोद दाहाल ‘वत्स’ कल्पना दाहाल, शान्ता दाहाल, रामप्रसाद दाहाल, मुकुन्दराज दाहाल, होमप्रसाद गृहस्थी, नारद पौडेल, पवित्रा पौडेल, अनार बस्नेत, कृष्ण भुसाल, रामचन्द्र घिमिरे, रामनाथ घिमिरे, लाक्पाजी शेर्पालगायतको बाक्लो उपस्थिति रहेको थियो ।