सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पल’ लोकार्पण

लेखक सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पल’ संस्मरणात्मक कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्यसचिव धनप्रसाद सुवेदीलगायतले उक्त कृति सार्वजनिक गरेका हुन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा दाम्लीमा २०४३ असारमा जन्मिएका उनले जनयुद्धपछि आईएसम्म अध्ययन गरेका छन् । २०५२ सालबाट नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा उनी १७ वर्षको उमेरमा होमिएर दुई वर्षसम्म भूमिगत रहेरका थिए ।

सशस्त्र युद्धमा होमिएका अनुभवलाई कृतिगत रूपमा प्रकाशित गरेका हुन् । कृतिभित्र ‘माओवादीमा लाग्यो भनेर घरपरिवारमा रुवावासी’, ‘माओवादीलाई ‘जंगली’ भन्नेको गालामा चड्कन’, ‘घोडेटार आक्रमणका लागि दुर्छिमबाट ५० मुरी मौसमी चन्दा र २०० किलो सुकुटी’, ‘उदयपुरमा ढलेको माओवादी खोटाङको मूल खाँबो’, ‘रामकाइँलाको राजनीतिक रामकहानी’, ‘आधा दर्जन गोली शरीरमै बोक्नुपर्ने बाध्यता’, ‘तान्द्रोबाट फर्किएको नाफाको जीवन’ लगायत ३० वटा शीर्षकका लेख समेटिएका छन् ।

‘सय रुपैयाँभन्दा माथिका सामान आफूसँग भए पार्टीलाई बुझाउँथ्यौं । महँगो सामान किन्न नहुने पार्टीले निर्णय गरेको थियो । जसले नेता तथा कार्यकर्तालाई एउटै सूत्रमा बाँधेको थियो,’ सोनामले, ‘मुलाको जरामा परिणत माओवादी’ शीर्षकमा लेखेका छन्, ‘त्यतिबेला र यतिबेलाको माओवादी नेता तथा कार्यकर्ताको जीवनशैली कहाँबाट कहाँ पुगिसकेको छ । हेर्दा टोपी खस्ने घर बंगला ठड्याएका छन् । सात पुस्तालाई पुग्ने चल–अचल सम्पत्ति जोड्नेहरू बढ्दै छन् । आवश्यकताभन्दा बढी धन–सम्पत्ति जोडेर रमाउनु राष्ट्र र राष्ट्रियताप्रति घात गर्नु हो भनेर पढाइएको थियो । तर, हामीले कत्ति छिटो बिर्स्यौ हगि ? सोनामको यसअघि ‘नपुङ्सक स्वर्गको विरुद्ध आगो’ (कवितासंग्रह, २०७२) प्रकाशित छ ।