कथालयको ‘पुस्तकालय म्यानुअल’सार्वजनिक

पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी वज्राचार्यले पुस्तकको विमोचन गरेका हुन् ।

कथालयद्वारा प्रकाशित उक्त हाते पुस्तकको लेखन मुरारीविनोद पोखरेल, भोलाकुमार श्रेष्ठ र राजीवधर जोशीले गरेका हुन् । ३ हजारभन्दा बढी विद्यालयको अनुगमन र २० वर्षको आफूहरूको अनुभवमा पुस्तक प्रकाशन गरिएको लेखकहरूको भनाइ छ ।

विद्यालयमा भएका जनशक्तिबाट नै पुस्तकालय व्यवस्थापन गर्न सकिने गरी निर्देशिका तयार पारिएको र हरेक विद्यार्थीलाई नियमित र निश्चित समयमा पुस्तकालय आउने, पुस्तक लाने समयको व्यवस्थापनमा यसले सघाउने लेखक राजीवधर जोशीले बताए । पुस्तकालय स्थापना गर्दा कस्तो कोठा र कति क्षेत्रको चाहिने, कक्षा स्तरअनुसार कस्ता पुस्तक संग्रह गर्नेदेखि फर्निचर कस्ता र कति साइजका राख्नेजस्ता प्राविधिक पक्षलाई पनि पुस्तकमा नक्सासहित समावेश गरिएको कथालयले जनाएको छ ।

Comments are closed.