Trending Now

पुस्तक समीक्षा: ‘अनुभूतिको अवतरण’ मेरो आँखामा

नेपाली साहित्यमा विशेषगरी अब्बल कविता सिर्जना गर्नेमध्यकी कवि हुन् रञ्जना निरौला । कवि मनकी धनी उनै रञ्जनाले जीवनको अनुभव र अनुभूतिलाई निबन्धमार्फत अवतरण गराएकी छन् `अनुभूतिको अवतरण´ शीर्षकको निबन्धसङ्ग्रहमा । अनुभव, अनुभूति, भावना र संस्मरणलाई शब्द, शैली र सुन्दर भावपूर्ण अभिव्यक्तिका माध्यमबाट व्यक्त गरिएको उनको अनुभूतिहरूले यौटा सुन्दर मैदान निर्माण गरेको छ । जुन मैदान अफैमा सुन्दर, मनोरम र हराभरा छ । त्यस मैदानमा भावनाका पुष्पगुच्छाहरू सर्वत्र अवतरित भएका छन् । ती पुष्पगुच्छालाई नियाल्दा साँच्चै नै रञ्जनाले जीवनलाई सुक्ष्म तरिकाबाट नियालेकी छन्, स्पर्श गरेकी छन् र अभिव्यक्तिको माध्यमबाट आफू स्वयमलाई पनि अवतरित गराएकी छन् । निबन्धको लेखनकला, प्रस्तुतीकरण र अभिव्यक्तिय शैली सरल र सुन्दर छन् । सायद यिनै विशेषताको कारण उनका निबन्धहरूमा जीवन छ, दर्शन छ, समयको चित्रण छ र सबैभन्दा महत्त्वपूर्ण कुरा उनले अनुभूतिलाई हृदयको उद्गारको रूपमा प्रस्तुत गरेकी छन् ।
– मान्छेका आँखाहरूले खोज्ने त सौन्दर्य नै हो, वीभत्स होइन । पृ:१३
– वसन्तलाई फूल र इन्द्रेणीलाई रङ उपहार दिइरहनुको के अर्थ ? पृ:३१
– समयले हेर्दाहेर्दै यो संसारलाई अझ सुन्दर बनाउन फोटोले मात्र होइन आत्मभाव सुन्दर हुनुपर्छ । सुन्दर भावले सौन्दर्य जगाउँछ र चम्काउँछ । पृ:३३
– आफ्नै आँगन बिरानो छ र आफै खुम्चिएर यौटा परिधिभित्र बाँधिएको छ समय । पृ:३७
– सुन्दरता आनन्द दिने बस्तुहरू हुन् । सुन्दरता एक्लै रहनु, अरूबाट अलग रहनुको के मजा < । पृ:४८
– कति कुरुप छ हाम्रो संस्कार ? कति निर्दयी पनि ? दुखिरहेकालाई अझ चिमोट्ने । पृ:५५
– बलात्कार र हत्याजस्तो अपराधका लागि पनि सजायका निम्ति हामीले कसैको आज्ञा पर्खिरहनु पर्छ र < । पृ:६७
– जीवनका कति कुरा बदलिन्छन् । कति कुराहरू यथाबत् रहन्छन् । तर धेरै कुराहरूको भोगाइ भएका हामीलाई माया चैँ सदा नयाँ नै भएर आउँदो रहेछन् । पृ:७७
– मृत्यु स्वाभाविक हो है भनेर माने पनि मृत्यु हुने घटना स्वाभाविक लाग्दैनन् । पृ:८४
– सौन्दर्यको आँखामा कताकृतिको गाजल लगाएर मुस्कुराइरहेको मेरो देशको ओंठबाट शान्तिकै मुस्कान मात्र पोखिन्छ । पृ:९१
– मातृत्व ममताको अनुभूति हो, नारीत्वको । पृ:१००
– छोरी, जीवन मीठो र समय सुन्दर छ । त्यो हुनका लागि शान्ति, समृद्धि र अमनचैन हुनुपर्छ । पृ:१०५
– जीवन बाँचुन्जेल त हो नि । हरतरहले रमाइलो गर्नुपर्छ । पृ:१३७
– प्रत्येक जीवनका सपनाहरू हुन्छन् । सपना र पूर्वस्मृतिबिनाको जीवन उजाड मरुभूमि हो । पृ:१४८
– छिँडीभरिको संसारमा बाँधिएर पनि आशावादी छन् मेरा स्वसम्बोधनहरू । क्रन्दनको आह्वानले सोध्छन् न्यायको परिभाषा गर्दै आर्तनाद । यात्रामा अल्झिएर रोमाञ्चित बनेका छन् पाउहरू । प्रेमको विशालतालाई स्वीकारेर टुसाएका अनुरागका अङ्कुर । वियोगमा दुखेर पनि आनन्दको प्रत्युत्तर बनेर मुस्काएका छन् सपनाहरू । अभिन्न प्रकृतिलाई साथीकरण गरेर बगेका सन् भोगाइका महासागर । शाश्वत सत्यको प्रत्यक्षीकरण नस्वीकारेर पनि स्वीकार्न बाध्य छन् विवशताहरू । पृ:१६८
माथि उल्लिखित उद्गारहरू सबैसबै अनुभूतिको अवतरणको आकाशमा जून–ताराझैं चम्किरहेका रञ्जनाका दार्शनिक भाव र अनुभूतिहरू हुन् । जीवनको आरोह र अवरोहका खुट्किलाहरूमा टेक्दा, हिँड्दा र कहिलेकाहीँ ठेस लाग्दाको अवस्थाबाट उत्पन्न पीडा र सुखद क्षणमा निस्केका सुस्केराहरू हुन् । जसलाई रञ्जनाले शब्दले, भावले, शैलीले र अभिव्यक्तीय कौशलाताले पूर्णता दिएकी छन् । उनको लेखन क्षमता अब्बल र सशक्त छ भन्ने प्रमाण र साक्षी दुवैका रूपमा अवतरित छ उनको नविनतम् निबन्धसङ्ग्रह `अनुभूतिको अवरतण´। भुमिकाबिनाको यस सँग्रहका प्रत्यक निबन्धहरू आफैमा उत्कृष्ट भुमिका सरह छन् |

सुन्दर लेखन तथा सम्पादन र अझ सुन्दर आवरण भएको यो कृति नेपाली निबन्धको क्षेत्रमा अवश्य पनि अब्बल सावित हुनेमा विश्वस्त छु । कवि एवम् निबन्धकार रञ्जना निरौलाको आगामी लेखनले अझ उन्नतिको शिखर चुम्दैजाओस् भन्ने शुभकामनासहित हार्दिक

बधाई ज्ञापन गर्दछु ।
दिव्य गिरी
काठमाडौँ

Comments are closed.