नेपाली साहित्यमा कविता , निबन्ध , नाटक र आख्यान गरी चार प्रमुख विधा मानिन्छन् । विधात्मक दृष्टिकोणले सबै उत्तिकै महत्वपूर्ण रहेका छन् । रुचिका दृष्टिकोणले पनि कुन कम र कुन बेसी छुट्याउन सकिदैन । स्रष्टाहरुले घरायसी परिवेश वा सामाजिक वातावरण , अध्ययन र रुचिका आधारमा मन परेका विधाहरुमा साधना गर्दछन् र सिद्धि प्राप्त गर्छन् । तिनका रचनालाई तौलन पनि सकिंदैंन । ती रचनाहरु आफैंमा अतुलनीय हुन्छन् । आफ्नै गुण-गरिमा र रूप-सौन्दर्यले समन्वित रहन्छन् ।
आजभन्दा लगभग पाँचवर्ष अघि क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ यू पी भारत-२०१७ ( २४-२६ ) सम्पन्न कार्यक्रममा कवि ऋषभदेव घिमिरेका कविता पहिलो पल्ट मेरा कर्णकुहरमा गुन्जिएका थिए र उहाँको वाचनकलादेखि आकर्षित भएको थिएँ । गतवर्ष हेटौंडामा सम्पन्न मातृभूमि साहित्य समाजको कार्यक्रममा उहाँको र मेरो बसाइको अन्तरले ‘कविताको कथा’ सुनाउन सक्नुभएन । भावुक-ऋदयी कवि ऋषभले कार्यक्रम पछि मलाई खोज्नु त भयो तर म चितवनतिर कारणवश लाग्नुपरेकोले मलाई भेटेर पुस्तक थमाउन सक्नुभएन , मलाई पुस्तक नथमाई उहाँलाई सन्तोष पनि लागेन पछि भरतपुरतिर आउने साथीद्वारा ‘कविताको कथा’ पठाइदिनु भएछ । असाध्यै सुमधुर लयमा वाचन गर्ने र कुशलतापूर्वक छन्द-कविताहरुको रचना गर्ने कवि ऋषभदेव घिमिरेले गद्य-कविता-सङ्ग्रहलाई प्रकाशनको प्राथिमिकतामा किन राख्नुभयो ? मेरा मनमा पनि कुतूहलताका भुलभुल मूल फुटिरहे । त्यसो त गद्य र पद्य कविताका आफ्नै संप्रेषणीय महनीयता र भावसञ्चारका अप्रतिम विलक्षणताहरु हुँदाहुँदै पनि कथा ( लोक ) महिमाको दीर्घतर इतिहास र वर्तमानमा कविताका भन्दा आख्यानका पाठक र निर्णायकप्रतिका रुझानलाई ख्याल गरी कविताको कथा ल्याउनु भएको हो कि भन्ने पनि लाग्यो तर विश्वसाहित्यमा कविता-काव्यहरुको गुणवत्तालाई बिर्सन पनि सकिंदैन ।
जुन विधामा लेखे पनि रोजाइ त आखिर कविको हो । समालोचक प्रा डा व्रतराज आचार्यले ‘ घिमिरेका कवितासँग अन्तरङ्ग’ शीर्षकको भूमिका मार्फत कवि ऋषभदेव घिमिरेको परिचयसहित कृतिको सुन्दर विश्लेषण गर्नुभएझैं अर्का विद्वान् समीक्षक महेश पौड्यालले ‘सहिष्णुताको स्वच्छन्द खोजी’ द्वारा कवि ऋषभदेवको कविताको कथा ( कवितासङ्ग्रह-२०७६ ) को साङ्गोपाङ्ग चित्र उतार्नु भएको छ भने पश्च पृष्ठावरणमा राष्ट्रकवि माधव घिमिरेका हस्तलिपिसहितको कवितात्मक आशीर्वादले कृतिले सुन्दरता , ओज र पूर्णता प्राप्त गरेको छ । मैले लेख्ने थप विषयहरु त्यही नै समेटिएका छन् । म समालोचक त होइन तर इमानदार पाठकको हैसियतले दुई शब्द लेख्ने रहर गरेको मात्र हुँ । कवि स्वयं समीक्षक हुनुहुन्छ भन्ने प्रमाण त ‘भाव तरङ्ग’ र कृतिमा अभिव्यक्त विचारले पनि प्रकटन गरिरहेझैं लाग्दछ । ‘कविताको कथा’ लाई आयामका दृष्टिले लघुतम-कविता ११ र लघु-कविता ४७ गरी विविध आयाममा भए झैं वस्तुताका आधारमा लोकतन्त्र , स्वाधीनता , सङ्घर्ष र राजनीतिक विचलनसहित शृङ्गारिकधाराको सुललित चित्रण , प्राकृतिक रमणीयताको सुकोमल प्रकटन , आद्यानुप्रासिकालङ्कारको मनोरम प्रस्तुति एवम् राष्ट्रिय विभूतिहरुप्रतिको ससम्मान स्मृतिले अनि स्वच्छन्दतावादी परिष्कृत शैली र तार्किक विचारले पनि कृति पठनीय र सङ्ग्रहणीय बनेको छ । कवितामा विविध भावहरु छन् , तरङ्गतरेलीहरु छन् , रूमानी भावधाराका अनुपमेय प्रणय-प्रवाहका प्रमुग्धकारी प्रसूनहरु पल्लवित छन् ।
समुचित बिम्ब प्रतीक उपमा र सूक्तिमयताका मनमोही सुकुमार प्रयोगहरु छन् । प्रीति-प्रणयका मधुरतम निनादहरु छन् । स्वयम् कविका उदात्त भावना र दार्शनिक चिन्तनका रमणीय प्राकृतिक रङ्गमयताले आच्छन्न कविताका सदाबहार चिरन्तन वीजहरुका वारेमा विरचित ‘कविताको कथा’बाट नै यथेष्ठ अवगत गर्न सकिन्छ । अतएव उदाहरणार्थ केही कवितांश राख्दै आफ्ना विचार छोट्याउँछु । यथा- मन र मस्तिष्कको नवीनतम उत्पत्ति कवितामयी ब्रह्माण्डको रचना पृथ्वी , तेज , जल , वायु र आकाश मनमोहक निहारिका भोग र भोगाइका परिवेश हाँस्दै फुल्ने फूलहरु कनक कान्तिले सिंगारिएको आभा मण्डल यिनै त कविताका शाश्वत स्वरहरु । ~ अन्त्यमा यति सुन्दर राष्ट्रभक्तिले ओतप्रोत कृति उपहार स्वरूप प्रदान गर्नुहुने कवि ऋषभदेवमा हार्दिक धन्यवाद दिंदै फेरि पनि यस्तै मनोरम कृति पढ्न पाइयोस् भन्ने सदिच्छा राख्दै यो छोटो पाठकीय विचार यही टुङ्ग्याउँछु । •
केशवराज आमोदी
राष्ट्रिय निकुञ्ज ,चितवन