पुस्तक समीक्षा:”बुधनको घोडी” कथासङ्ग्रहका कथाहरूको अवलोकन

मन्दिरा मधुश्री ( भोजपुर) का नामले चिनिने मन्दिरा कोइराला पाण्डेको “बुधनको घोडी” २०७३ सालमा प्रकाशित कथासङ्ग्रह हो। २२२ पृष्ठमा आबद्ध यस सङ्ग्रहमा १५ वटा कथाहरू सङ्कलित छन्। यो कृति विभिन्न विषयमा आधारित कथाहरूको सङ्ग्रह बनेको छ।
पहिलो कथा “वीरेको सपना र रेडियोको समाचार” शीर्षकमा छ। कथा राजनीतिक विषयवस्तुमा आधारित छ। माओवादी युद्धका बेला सर्वसाधारण निहत्था जनता बिनाकसुर कसरी झुट्टा आरोपमा मारिन्थे अनि महिलाहरूलाई सामूहिक बलात्कार गरेर मारिन्थ्यो भन्ने कलात्मक र प्रभावकारी रूपमा व्यक्त गरिएको छ।
दोस्रो कथा “हाकिम, म र त्यो साँझ” शीर्षकमा प्रस्तुत छ। अत्यन्त अनपेक्षित रूपले कथाको घटनालाई अन्त्य गरेर प्रशासनिक वा कर्मचारीतन्त्रमा हाकिमको बिम्बलाई नकारात्मक होइन सकारात्मक बनाई प्रस्तुत गरिएको छ। हाकिमहरूले जहिले पनि महिलामाथि यौनहिंसा गर्छन् भन्ने सामाजिक हेराइ वा पढाइलाई उल्टाउँदै हाकिम पनि सामान्य मान्छेझैँ आफ्नी अति प्यारी छोरीको मृत्युुले रन्थनिएको बेला जागिर खान आएकी कसैकी छोरीका लागि बाबुकै रूपमा प्रस्तुत भएर दिवङ्गत छोरीलाई जागिरे छोरीमा परिणत गरेर वियोगको पीडाले क्षतविक्षत मनलाई सम्हालेर पुनर्जीवन दिन तयार भएको घतलाग्दो घटनाको संयोजन गरेेर कथाकार मन्दिराले आफूलाई एक सशक्त कथाकारमा स्थापित गरेकी छिन्। यो कथा मानवीय स्नेह र निर्मल पैतृक प्रेममा आधारित छ र यसको विषयवस्तु पनि यही हो।
तेस्रो कथा “मैले चिनेको सहर” शीर्षकमा छ। काठमाडौं सहरका आधुनिक भनाउँदा नारीहरू फेसन मोजमस्ती र गाउँलेहरूप्रति उपेक्षा गर्नमा मात्र लाग्छन् तर मानवता, सद्भाव र सदाशयताप्रति उदासीन छन्। गाउँलेलाई पाखे भनेर हेप्नमा नै सहरियापन बाँचेको जस्तो ठान्छन्। बोल्नसमेत सभ्य रूपले प्रस्तुत हुँदैनन्। पाश्चात्य संस्कृतिमा रमाएर आफ्नो मौलिक संस्कृतिलाई तिलाञ्जली दिनुलाई गौरव ठान्छन्। यही नै यस कथाको मूल भाव हो।
चौथो कथा “पुनरावृत्ति” हो। पुरुषवृत्ति र नारीयौवनमा खेलेर जीवन बर्बाद गरिदिने पुरुषको निकृष्ट प्रवृत्तिलाई देखाउने कथा हो। नारीहरू पुरुषलाई अति विश्वास गरेर पूर्णरूपमा समर्पित हुन्छन् तर पुरुषहरू नारीको त्यस विश्वासमाथि घात गर्छन् भन्ने सार यसमा कुँदिएको छ।
पाँचौँ कथा “आइमाई” हो। नारीको नचाहिँदो कुरा काटेर समय बर्बाद गर्ने कमजोर मानसिकताको चिरफार गर्ने कथा हो। नारीहरू नै नारीको हानि पुर्याउने कार्यमा कति लज्जास्पद रूपले संलग्न हुन्छन् भन्ने कुरा देखाइएको छ। यसमा कुरौटे आइमाईको व्यङ्ग्यात्मक तस्बिर उतारिएको छ। तीललाई पहाड बनाएर नारीले नारीकै चरित्रहत्या गर्न खोज्नु कति बेइज्जतीको कार्य हो भन्ने कुरा नारी कथाकारले नै भनेको सायद यही कथाले नै होला। विकासनिर्माणका कार्यमा भन्दा अर्काको नचाहिँदो चियोचर्चा र खोजीनिन्दामा लगाउने प्रवृत्तिले नै महिलाहरूलाई समाजमा पछि पारेको नेपाली समाजको तथ्य यस कथाले प्रमाणित गरिदिएको छ।
“सिट नं. १२” छैटौँ कथा हो। यो नारीमनको विश्लेषण गरिएको कथा हो। एक अविवाहित र अति सुन्दर युवती लामो दूरीको बसयात्रामा निस्कँदा कस्तो भयावह मानसिकता लिएर निस्कन्छे र ऊसँगै बसमा यात्रा गर्न आउने अर्को युवकप्रति कति शङ्कालु भई अनेक थरी कुरा मनमा खेलाउँछे भन्ने कुरा देखाइएको छ। नारी मनोविज्ञान सामाजिक अन्धविश्वासबाट कसरी प्रभावित हुन्छ भन्ने कुरालाई ८ वा १२ नं. सिटमा बस्ता फाप्तैन वा अपशकुन हुने सोचाइद्वारा देखाइएको छ। समाजमा घटेका अनेक घटनाहरूले बनेको नारी मनोविज्ञानले पुरुषलाई मात्र दोष देख्छ हरेक दृष्टिबाट। तर सँगैको सिटमा बसेको तर युवतीलाई रिसउठ्तो युवकले उसलाई छुँदा पनि छोएन र युवतीले आक्रमण गर्न तयार भएर बस्ता त झन् युवकले केही नगरेपछि युवती उसलाई नपुंसक पो हो भन्ने ठान्छे। यसरी पुरुषलाई हेर्ने नारीदृष्टि पनि कम पूर्वग्रहयुक्त छैन भन्ने देखाइएको छ। फेरि युवकले केही नगरेपछि युवती आफैँ युवकलाई शरीर दलेर आनन्द लिन खोज्नुले नारीहरू आफू त निर्दोष हौँ पुरुष नै बदमास हुन् भन्ने नारीकेन्द्री हेराइ पनि गलत भएको देखाइएको छ। यसै गरी नारी पनि बाहिरबाहिर मात्र पुरुषलाई दोष दिन खोज्ने हुन् तर भित्रभित्र त उनीहरू पनि मौका पाउनासाथ पुरुषजत्तिकै यौनको आनन्द लिन खोज्छन् भन्ने देखाएर कथाकारले पुरुष होस् वा नारी सबै विपरीतलिङ्गीतर्फ आकर्षित भइहाल्छन् भन्ने मनोवैज्ञानिक सत्यलाई देखाउन खोजेकी छिन्।
“ममी मलाई किन छोड्नु भको” सातौँ कथा हो। यसमा नारीको पुरुषप्रतिको प्रेमको सच्चा समर्पण भाव र त्यागपूर्ण रूपलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। नारीले पुरुषले सोचेझैँ एक पटक प्रेम गरेको पुरुषलाई नै अन्तिमसम्म प्रेम गरिरहेकी हुन्छे। पुरुष राजनले नीरालाई जतिसुकै बिहे गर्न प्रेरित गरे पनि ऊ पटक्कै मान्दिन। बरु उसकै सम्पर्कबाट आमा बन्न चाहन्छे। आमा पनि बन्छे तर जब राजनकी छोरी दुर्घटनामा परेर मर्छे तब छोरीका वियोगले विरक्त बनेकी मुनालाई काटीकुटी उस्तै स्वरूपकी छोरी पठाइदिएर प्रकट गरेको उच्च र महिमामय प्रेमले आदर्श स्वरूप प्राप्त गरेको छ। पहिलो प्रेमलाई धैर्यका साथ साकार पार्न खोज्ने नीराको उच्च मनोबल तथा मुनालाई निराश तुल्याउन खोज्ने अभिभावक र दाजुभाइले पुरुषप्रधान समाजको नारीप्रतिको कठोर उपेक्षाभाव देखाएको छ। साथै नारीहृदयको कोमल र सद्भावयुक्त उच्चताको पनि कलात्मक चित्रण गरिएको छ। कथा सुन्दर र मार्मिक बनेको छ।
आठौँ कथा “मासुको तिर्सना” शीर्षकमा छ। यसमा गरिब कालेको मासु खाने तिर्सनाले भोग्नुपरेको ठालू मालिकको अन्याय, अत्याचार र चरम उपेक्षाको टीठलाग्दो स्थितिलाई देखाइएको छ। अार्थिक रूपले विपन्नका इच्छा र चाहनालाई मारेर दमनपूर्वक सताउने उच्च वर्गको चरित्रलाई कथाले सुन्दर ढङ्गमा प्रस्तुत गरेको छ। गरिबीमा मान्छे कतिसम्म अपमानित हुन्छ भन्ने देखाउन खोजिएको छ। आर्थिक दासतामा पिल्सने निम्न वर्गको निराशालाई देखाइएको छ। मालिक मालिकनीको चरम उपेक्षाले गलेको कालेको मासु खाने रहर त्यसै मरेझैँ सम्पूर्ण गरिब नेपालीहरूको चाहनामाथि धनी वा उच्च वर्गले यसरी नै तहसनहस पारिदिने गर्छ। गरिबीकै कारण उपेक्षित, अपमानित र तीव्र भेदभाव भोग्नुपरेका गरिबहरूको मानवताहीन र मूल्यहीन स्थितिको उद्घाटन अनि त्यस्तो स्थिति भोगेकाहरूका मनमा बिस्तारै बढ्न थालेको घृणाभाव कथाले समेटेको छ।
“अंशबन्डा” शीर्षकको कथा नवौँ क्रममा छ। यो सन्तानले आफ्ना बाबुप्रति कस्तो भाव राख्छन् भन्ने कुरालाई अति मार्मिक र कलात्मक रूपमा प्रस्तुत गरिएको कथा हो। पत्नी बितिसकेका लोग्नेले आफू बूढो भएकाले चार छोराछोरीलाई आफ्नो सबै सम्पत्ति उनीहरूले इच्छाएकै जग्गा, घर, गहना आदि दिएर आफूलाई जिम्मेवारीबाट मुक्त गरेपछि छोराछोरीले बाबुलाई आफूसँग राख्न हानाथाप गर्लान् भन्ने सोचेका बाबुले कुनै छोराछोरीले आफूलाई लान नसक्ने बहाना बनाई तर्किन खोजेपछि सन्तानको वास्तविक मानसिकता बुझेर आफू तीर्थाटन गर्दै अन्तमा वृद्धाश्रममा बसी जीवन बिताउने बाटो समात्छन्। सन्तानले बाबुआमालाई केवल सम्पत्तिका लागि मात्र नाता गाँसेका हुन्छन्। बाबुआमाको माया मात्र साँचो हुन्छ। छोराछोरीले बाबुआमालाई गर्ने माया स्वार्थी र बनावटी हुन्छ। यसैले मर्ने बेलामा मान्छे जतिसुकै सन्तान भए पनि एक्लै हुन्छ भन्ने भाव यस कथामा देखाइएको छ।
दसौँ क्रममा रहेको कथा “पानी परेको रात” हो। यो पहिरोले सताइएका मानिसहरूको कारुणिक कहानी भएको कथा हो। यसमा अरू कथामा जस्तो कसिलो संरचना पाइँदैन। बढी तन्किएको र फुकेको कथा हो यो। अझ बढी सम्पादन भएको भए हुने थियो भन्ने लाग्छ पढिसक्ता। अरू कथाझैँ रोचक वर्णन यसमा पाइँदैन। ऊ पात्रले आफ्नी प्यारी पत्नी र सानी छोरीलाई पहिरोमा गुमाई अन्तमा आफूसमेत पहिरोमै बगेर इहलीला समाप्त गरेको दु:खदायी घटना यस कथामा प्रस्तुत छ।
एघारौँ कथाका रूपमा “मध्यरात र खुल्ला झ्यालभित्रको उज्यालो” रहेको छ। यसमा लोग्ने मरेका र एकल जीवन बिताउन बाध्य बनेका स्वास्नीमान्छेका तीव्र मानसिक पीडा र समाजले नारीजातिमाथि गरेका लैङ्गिक विभेदका असमान सामाजिक स्थितिमाथि विरोध गरिएको छ। यो नारीमूल्यमा केन्द्रित कथा हो। वैधव्यको पीडा समेटिएको कथा हो। एकपक्षीय सामाजिक दृष्टिप्रतिको आक्रोश पोखिएको र नारीका लागि समान व्यवहार हुनुपर्ने विचार व्यक्त भएको कथा हो। यो सबैभन्दा बढी प्रश्न र मनमा खेलेका परस्पर विपरीत तरङ्गहरूले भरिएको कथा हो। यसमा एक्लो पात्रको मानसिक अन्तर्द्वन्द्व मात्र एकालापीय शैलीमा प्रस्तुत भएकाले पठनका दृष्टिले पट्यारलाग्दो बनेको छ।
“विजेता” बाह्रौँ कथा हो। यसमा सहरका न्यूनवैतनिक कर्मचारीका मनमा उत्पन्न झम्सीखेल वा झमेलका महङ्गा होटलमा गएर विदेशी महङ्गो रक्सी खाने रहर देखाइएको छ। यसका लागि स्वास्नीले थाहा नपाईकन पैसा जम्मा गरी झमेलको होटलमा पसेको पनि देखिन्छ। तर जब त्यस कर्मचारीले घरपरिवार धान्न स्वास्नीले अभावमा पनि अचार र भात वा गुन्द्रुक र भातको खानपिनको व्यवस्था गरेको, बालबालिका बिरामी हुँदा पनि डाक्टरलाई देखाउन नसकी घरेलु पाराले औषधी गरेको, आफू पार्टी खाने निहुँले घरमा ढाँटेर हिँड्न खोज्दा स्वास्नी र छोराछोरीले पनि पार्टी खान हामीलाई पनि लैजानू न भनी दयालाग्दो पारामा भनेको झलझली सम्झँदै परिवारकै मायाले आखिर जितेर मासु, चिसोपेय आदि लिई घरमा फर्केर आई फजुलखर्ची विदेशी संस्कारमाथि नेपाली हार्दिक पारिवारिक वातावरण निर्माण गर्न सफल भएकाले विजेताका रूपमा उभिएको घटनालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। यो कथा न्यूनवैतनिक कर्मचारीको पारिवारिक सामाजिक पीडाव्यथा वा अपमानपूर्ण अतृप्त मानसिकतामा पिरोलिएर बाँचेको कुरा देखाउन सफल छ। यो आर्थिक-सामाजिक तथा मनोवैज्ञानिक पक्षलाई उद्घाटन गर्ने कथा बनेको छ।
तेह्रौँ कथा “अम्बाको बोट” हो। यसमा छोराहरू विदेशतिर लागेर आफ्नो माटो बिर्सेका अनि क्रिस्चियन बनेर संस्कृतिसमेत बिर्सन थालेका अनि पत्नी छोराहरूको न्यास्रोले बितेकी हुनाले केवल एउटा कुकुरका साथमा निराश जीवन बाँचिरहेको एक वृद्धको मार्मिक अवस्थाको मानसिकताको चित्रण छ। दसैँ र अम्बाको बीच सम्बन्ध स्थापित गरेर त्यस अम्बालाई छोराहरूको खुसीको पर्याय मान्दै आएको उसले छोराहरू दसैँमा नआउने र हिन्दू धर्मसमेत परिवर्तन गरिसकेका अवस्थामा त्यो अम्बाको फलले दिने सुखको कुनै महत्त्व नरहेको ठानी हाँगा काटेर फ्याँकिदिएको प्रसङ्गले कथालाई प्रभावशाली बनाएको देखिन्छ।
चौधौँ कथा “बुधनको घोडी” हो। यस कथामा बुधनको करिश्मा नामको घोडी गाभिनु हुन्छ। बुधनले हरियालाई उसको घोडा बिउका रूपमा प्रयोग गरेबापत तिर्नुपर्ने दुई हजारका लागि जबर्जस्ती टाँगा चलाउन प्रयोग गर्दा करिश्माले मरेको बच्चा जन्माउँछ र उसको घर बनाउने र बिहे गर्ने सबै सपना तुहिन्छ, मर्छ। कथा तल्लो वर्गका मान्छेको मार्मिक कारुणिक तस्बिर उतार्नमा अत्यन्त सफल छ। यो सङ्ग्रहकै विशिष्ट र उत्कृष्ट कथा हो।
पन्ध्रौँ वा अन्तिम कथा “बाजी” हो। यस कथामा दुई जना केटा र केटीबीचको त्यस्तो बाजीको कुरा छ जसमा केटा र केटी एकान्तमा भेट भए भने उनीहरूबीच आगोमा घिउ पग्लेझैँ शारीरिक सम्पर्क गरिहाल्छन् भन्ने केटा साथीसँग केटीले त्यस्तो हुँदैन भन्ने अडान राख्छे र अन्तमा जित्छे पनि। यसैले यो अत्यन्त रोमाञ्चक वर्णन भएको कथा हो।
यसरी मन्दिरा मधुश्रीको प्रस्तुत कथासङ्ग्रह रोचक छ, समसामयिक युगबोधमा आधारित कथाहरूले भरिएको छ र विविधतायुक्त विषयवस्तुमा सरल सहज शिल्पशैली प्रयोग गरी लेखिएका कथाहरूको कलात्मक तथा प्रभावकारी बिटो बन्न पुगेको छ।
भरतकुमार भट्टराई
२०७६/५/२८