नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा कविता महोत्सव–२०८१ का लागि कविता आह्वान

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता माग गरेको सूचना आजको गोरखापत्रमा प्रकाशित गरेको छ ।
प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता माग गरिएको हो ।
कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषा/मातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ ।
मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ ।
सूचना अनुसार कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव–२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन । साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कनमा समावेश गरिने छैन ।
कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई असार ९ गते आयोजना हुने प्रतिष्ठानको ६७औं वार्षिकोत्सवमा ३० हजार रुपियाँसहित कदरपत्र प्रदान गरिने बताइएको छ ।
कविता kavitamahotsav2081@gmail.com मा जेठ २२ गतेसम्म पठाउन सकिनेछ ।