चन्द्रागिरि कार दुर्घटना : पाँच जनाले ज्यान गुमाए

काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा शनिबार दिउँसो भएको कार दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते एकजनाको पनि ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको हो । दुर्घटनामा परी चार जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।

दुर्घटनामा परी घटनास्थलमा नै ज्यान गुमाउनेमा कार चालक काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटका डा.महेशकुमार गौतम, चार वर्षीय प्रियान्स गौतम, काठमाडौँ महानगरपालिका ३० का ६७ वर्षीय ओमकारनिधि तिवारी, ६४ वर्षीया कल्पना तिवारीरहेका छन् । त्यस्तै  ६ वर्षिया स्मारिका गौतमको उपचारको क्रममा ज्यान गएको छ । दुर्घटनामा गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

शनिबार काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ सेतोपहरामा काठमाडौंबाट चित्लाङतक जाँदै गरेको प्र ३–०१–२३ च ६९८५  दुर्घटना भएको थियो ।  मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाउको छ । ज्यान गुमाउने सबै डा. गाैतमका पारिवारिक सदस्य हुन् । तिवारी दम्पति गाैतमका सासु-ससुरा हुन् भने स्मारिका र प्रियान्स छाेरी र छाेरा हुन् । घाइते सृष्टि गाैतमकी पत्नी हुन् ।