रवि बिरुद्द मुद्दामामिला, चितवनमा दर्ता भए चार उजुरी

चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा चार वटा उजुरी दर्ता भएका छन्।

सर्वोच्चमा रिट दायर गरेका युवराज पौडेलले इमेलमार्फत उजुरी पठाएका थिए। तीन उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दिएका हुन्।

उनले उजुरीमा विदेशको नागरिकता त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यथित नभई निर्वाचनमा उम्मेदवार हुन नमिल्ने उल्लेख गरेका छन्।

लामिछानेले गत माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनस्प्राप्ति गरेका थिए।

उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको कुरा अमेरिकी सरकार वा अमेरिकी राजदूतावासले प्रामाणित गरेको निस्सा पेस नगरी नेपाली नागरिकता लिने र दिने कार्य भएको दाबी गरेका छन्।

उनले सर्वोच्च अदालतको आदेश बमोजिम निस्सा पेश भएको होरहोइन यकिन गरेरमात्रै लामिछाने उम्मेदवार बन्न सक्ने जिकिर गरेका छन्। निस्सा पेश गरेको नदेखिए उम्मेदवारी रद्द गर्नुपर्ने माग उनको छ।

स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले पनि उजुरी दिएका छन्।

उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीको सम्बन्धमा सम्बन्धित उम्मेदवारसँग स्पष्टीकरण सोधेर निर्वाचन आयोगमा पठाउने बताएको छ।