अन्तरजातीय विवाहपछि जुम्ला घर जलाइएको भन्दै मुद्दा दर्ता

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–४ गिडिखोलामा अन्तरजातीय विवाहपछि घर जलाइएको भन्दै मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक इन्स्पेक्टर धर्मराज जोशीका अनुसार तातोपानी–४ निवासी भरत नेपालीको घर जलाउने व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको हो । तातोपानी–४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको इन्स्पेक्टर जोशीले बताउनुभयो ।

प्रहरीका अनुसार घरधनी नेपालीका भाइ मुकेन्द्र नेपाली र त्यही गाउँकै गिरी जातकी केटीबीच विवाह भएका कारण केटी पक्षका आफन्तबाट घर जलाइएको हुन सक्ने आशङ्कामा किटानी जाहेरी परेको हो ।

यस घटनामा केटीका बुबाले पनि छोरी हराएको भन्दै गएको असार १३ गते निवेदन दिएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केटीका बुबाले दिएको निवेदनमा मुकेन्द्र नेपालीसँग विवाह गरेकी केटी १६ वर्षकी उल्लेख भए पनि १४ वर्ष सात महिनाकी भएको जनाइएको छ । केटीको विद्यालयको प्रमाणपत्रमा १४ वर्ष सात महिना उमेर खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार आइतवार बिहान ३ बजेतिर आगलागी भएर भरत नेपालीको घर जलेको थियो । आगलागीबाट टिनले छाएको माटो र ढुङ्गाले छाएको घरको भित्री भाग पूरै जलेको प्रहरीले जनाएको छ ।