नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा `ईतिहास शिरोमणी बाबुराम आचार्य´ को १३६ औँ जन्मजयन्ती मनाइयो

२०७९ फागुन २९, नेपाल प्रज्ञा प्रतिष्ठानले इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्ती मनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित गरिएको ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक प्रवचन’ नामक उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको पुनर्लेखनबारे जोड दिँदै इतिहास शिरोमणि बाबुराम आचार्यको योगदानबारे चर्चा गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा इतिहास शिरोमणि बाबुराम आचार्यले समग्र नेपालको इतिहास लेखनका साथै साहित्य र समालोचनालाई समेत प्रवृत्तिगत रूपले केलाउन सफल रहेको धारणा राख्नुभयो ।
यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति प्राडा जगमान गुरुङले बाबुरामआचार्यबाट इतिहास लेखनको स्वाभिमान सिक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्रज्ञा सदस्य दिनेशराज पन्तले इतिहास लेखनका क्रममा बाबुराम आचार्यले कहिल्यै पनि शासकसँग नझुकेको बारे चर्चा गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , सामाजिक शास्त्र विभाग प्रमुख तथा सभाध्यक्ष डा.कौशिला रिसालले इतिहास र समाजशास्त्रको अध्ययन र विश्लेषणबारे ध्यानाकर्षण भएको बताउनुभयो ।
इतिहासविद् प्राडा सुरेन्द्र केसीले राणाकालीन कालो इतिहासलाई बाबुराम आचार्यले उजागर गरेर युगिन योगदान पुर्याएको बारे चर्चा गर्नुभयो । अर्का इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले बाबुराम आचार्यले इतिहास लेखनमा अनिवार्य राख्नु पर्ने पाद टिप्पणी र विस नराखी इसको प्रयोग गरेकोमा आलोचना हुने गरेको बताउँदै भीमसेन थापामाथि पुर्वाग्रह राखेको बारे प्रष्ट पार्नुभयो ।साथै पूर्व राजदूत राजेश्वर आचार्यले बाबुराम आचार्यको इतिहास लेखनमा प्रेरणादायी भूमिका निर्वाह गरेको बताउनुभयो ।
प्रस्तुत प्रवचन कार्यक्रमलाई धन्यवाद व्यक्त गर्दै “इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान”का महासचिव बाबुराम आचार्यले इतिहासको क्षेत्रमा बाबुरामले पुर्याएको योगदानबारे खोजअनुसन्धान हुनुपर्ने विषयमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन भने नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभयो ।