नुवाकोट । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पुर्याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए । उनका अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनीसहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलिमा सहभागी भएर आज बिहानसम्म पनि धार्मिक गतिविधि जारी छ । शनिबार साँझ द्वारे शाहीले धार्मिक विधिअनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्राको विशेष रौनक सकिए पनि भैरवी वर्ष बन्धन २०७९ को बाँकी प्रक्रिया र गतिविधि आगामी वैशाख ३ गतेसम्म जारी रहने बताए ।
सिन्दुरे जात्रा ‘सरकारी जात्रा’अन्तर्गत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति हुने गरेको छ । यो जात्रा ‘सरकारी जात्रा’ भएपनि नुवाकोटवासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दै उल्लासपूर्णरुपमा मनाउने गरेका छन् । जालपादेवी मन्दिरमा पुर्याएर फर्काइएको भैरवीको रथसहित धामी, धमिनी, कुमार, गणेशसहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पणसहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउँदै बाजागाजासहित विशेष सम्मान दिने चलन छ ।